इटहरी । नेपालले ५ महिनामा करिब ९ खर्बको वैदेशिक व्यापार गरेको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि मंसिरसम्म ८ खर्ब ८२ अर्ब ६९ करोड ८२ लाख २९ हजार रुपैयाँको वैदेशिक व्यापार गरेको हो। गत वर्ष यही अवधिमा नेपालले ७ खर्ब ३५ अर्ब १४ करोड ८३ लाख ६५ हजारको व्यापार गरेको थियो।
यो ५ महिनामा आयात १५.८३ प्रतिशत र निर्यात ५८.१७ प्रतिशतले बढेको छ। मंसिरसम्म ७ खर्ब ६६ अर्ब १८ करोड ९१ लाख ९२ हजारको आयात हुँदा निर्यात १ खर्ब १६ अर्ब ५० करोड ९० लाख ३६ हजारको भएको छ। गत वर्ष यही अवधिमा ६ खर्ब ६१ अर्ब ४८ करोड ८५ लाख ९४ हजारको आयात र ७३ अर्ब ६५ करोड ९७ लाख ७१ हजारको निर्यात भएको थियो।
योसँगै व्यापार घाटा समेत १०.५१ प्रतिशतले बढेको छ। गत वर्षको ५ महिनामा वैदेशिक व्यापारबाट ५ खर्ब ८७ अर्ब ८२ करोड ८८ लाख २२ हजारको घाटा नेपालले यस वर्ष ६ खर्ब ४९ अर्ब ६८ करोड १ लाख ५६ हजार पुगेको छ। यस अवधिमा कुल व्यापारमा निर्यातको हिस्सा ३१.७३ प्रतिशतले बढ्दा आयातको हिस्सा ३.५३ प्रतिशतले ऋणात्मक रहेको छ। आयातनिर्यात अनुपात पनि ५ महिनामा २६.७७ प्रतिशतले ऋणात्मक देखिएको छ।





