काठमाडौं । काठमाडौं महानगरपालिकाले ८ करोड १६ लाख ९१ हजार रुपैयाँ लागतमा नन्दीकेशर सत्तल पुनःनिर्माण सुरु गरेको छ ।
२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भएपछि भत्काइएको सत्तल स्थानीयबीचको मतभेदका कारण लामो समयदेखि पुनःनिर्माण हुन सकेको थिएन। प्रशासनिक तथा न्यायिक प्रक्रियामार्फत सहमति जुटेपछि महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले जग पूजा तथा शिलान्यास गरेकी छन् ।
सत्तलको पुनःनिर्माणका लागि ११ करोड ९८ लाख २५ हजार ६३५ रुपैयाँ लागत अनुमान गरिए पनि सार्वजनिक खरिद प्रक्रियाबाट ८ करोड १६ लाख ९१ हजार ७२३ रुपैयाँमा निर्माण कम्पनीसँग सम्झौता भएको हो ।
४४१.१४ वर्गमिटर क्षेत्रफलमा बन्ने सत्तल दुई तलाको हुनेछ । निर्माण अवधि २०८५ भदौ ३० गतेसम्म तोकिएको छ ।
ऐतिहासिक नन्दीकेशर सत्तल श्री ५ सुवर्णप्रभा महारानीले शाके संवत् १७३० मा निर्माण गराएको अभिलेखमा उल्लेख छ । सत्तलको वि.सं. १९९० र २०२८ सालमा जीर्णोद्धार गरिएको थियो ।





