नुवाकोट । नेपाल टेलिकम वर्कर्स युनियनको केन्द्रीय समितिको उपाध्यक्ष (प्रत्यक्षतर्फ) पदमा अच्युतकुमार ओझा निर्वाचित भएका छन्। युनियनको १२औँ महाधिवेशनबाट ओझाले २६७ मत प्राप्त गर्दै उपाध्यक्षमा निर्वाचित भएका हुन्।

विदुर नगरपालिका–१३ का स्थायी निवासी ओझाले प्रतिस्पर्धी उम्मेदवारहरूलाई पछि पार्दै स्पष्ट मतान्तरसहित सफलता हासिल गरेका हुन्। प्रतिस्पर्धात्मक निर्वाचनबीच ओझाको विजयलाई संगठनभित्रको विश्वास र नेतृत्व क्षमताको मान्यताका रूपमा लिइएको छ।

युनियनको उपाध्यक्षहरुमा नन्दकुमार बुढाथोकीले १५७ मत प्राप्त गरे भने भुपारज शर्माले १३८ मत प्राप्त गरी निर्वाचित भए । उपाध्यक्ष पदका लागि प्रत्यक्षतर्फ सात जनाले उम्मेदवारी दिएका थिए।

यस्तै, उपाध्यक्ष विष्णुमाया जिसी (महिलातर्फ), उपाध्यक्ष बिगु पण्डित (मधेशीतर्फ), उपाध्यक्ष राकेशकुमार लामा (आदिवासी जनजातितर्फ) निर्वाचित भएका छन् ।

युनियनको केन्द्रिय समितिको अध्यक्षमा रोशन बजगाई निर्वाचित भएका छन् । सहअध्यक्षमा हेरम्वदेव भट्टराई निर्वाचित भएका छन्।

महासचिवमा लोकेन्द्र पनेरु निर्विरोध भएका थिए । उपमहासचिमा श्रीनिधी पोखरेल (प्रशासनतर्फ), प्रतापराम लुहार दयाल (कल्याणकारीतर्फ) र नरहरी नेपाल (आईटी.प्रशासनतर्फ) निर्विरोध निर्वाचित भएका छन् ।

कोषाध्यक्षमा विनोद घिमिरे र सहकोषाध्यक्षमा मदन सिटौला निर्वाचित भएका छन् ।

महाधिवेशनले महिला, असक्त, आदिवासी जनजाती, दलित र खुल्लागरी ३२ जना सदस्य चयन गरेको छ ।

महाधिवेशनले नयाँ नेतृत्व चयनसँगै युनियनको भावी कार्यदिशा, श्रमिक अधिकार, संस्थागत सुदृढीकरण र सेवा सुधारका विषयमा समेत महत्वपूर्ण निर्णयहरू गरेको जनाइएको छ।

तपाईको प्रतिक्रिया