गोठगाउँः लायन्स क्लब अफ रोयल गोठगाउँ सिटीको आयोजनामा शनिबार ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । सुन्दरहरैंचा–७ स्थित पञ्चायत माध्यमिक विद्यालय गोठगाउँमा भएको सचेतनामूलक कार्यक्रममा प्रहरी सहायक निरीक्षक नारायणप्रसाद लुइँटेलले सहजीकरण गरेका थिए । उनले सहभागीहरूलाई सडक सुरक्षासम्बन्धी सैद्धान्तिक तथा प्रयोगात्मक जानकारी दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि लायन्स डिस्ट्रिक्ट चिफ नगेन्द्र दाहालले यस्तो जनचेतनामूलक कार्यक्रमले सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने बताए । लायन्स क्लब अफ रोयल सिटी गोठगाउँका अध्यक्ष अनुरोध साहले पूर्वपश्चिम राजमार्ग हाल स्तरोन्नति भइरहेको अवस्थामा दुर्घटनाको जोखिम बढ्दै गएको हुनाले त्यसको न्यूनीकरण गर्न कार्यक्रम आयोजना गरिएको बताए। कार्यक्रममा लगभग ५० जना सिटी सफारी चालकहरूको उपस्थिति रहेको थियो । कार्यक्रमलाई रोटरीका रिजनल चेयर पर्सन खगेन्द्र रिजाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पोष्टकुमार श्रेष्ठ, सहायता सामाजिक संस्थाकी उपाध्यक्ष तुलसा आचार्यलगायतले सम्बोधन गरेका थिए ।





