काठमाण्डौं, ६ पुस ।
बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभन देखाई वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिने बहानामा ठगी गर्ने एक व्यक्तिलाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ। धादिङ जिल्ला निलकण्ठ नगरपालिका वडा नं. १३ घर भई हाल ललितपुर बस्ने २४ वर्षीय सुजन आले मगरलाई प्रहरीले काठमाण्डौंको भद्रकाली क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
पक्राउ परेका मगरले पीडित व्यक्तिलाई अमेरिका लैजाने भन्दै लामो समयसम्म विश्वासमा पारी पटक-पटक गरी जम्मा दुई लाख पचपन्न हजार रुपैयाँ असुल गरेका थिए। रकम लिएपश्चात उनले पीडितलाई विदेश नपठाई लामो समयसम्म सम्पर्क विहीन भएर ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पीडितले आफू ठगिएको थाहा पाएपछि दिएको जाहेरी दरखास्तका आधारमा खटिएको प्रहरी टोलीले उनलाई फेला पारी पक्राउ गरेको हो।
पक्राउ परेका मगरलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारवाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरी उपरीक्षक एवं सूचना अधिकारी काजी कुमार आचार्यले जानकारी दिनुभएको छ।





