विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलमा शनिबार आयोजित ‘कारखाना प्रदर्शनी’ कार्यक्रममा सहभागी अभिभावकहरू आफ्ना नानीबाबुहरूको सिर्जनात्मक प्रस्तुति देखेर उत्साहित देखिएका छन्।

कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरूले पाठ्यक्रममा समेटिएका विषयवस्तुलाई व्यवहारमा उतार्दै विभिन्न उपकरण र मोडेलमार्फत परियोजना प्रस्तुत गरेका थिए। आफ्ना आविष्कारले कसरी काम गर्छ, तिनको उपयोगिता के हो र यसले मानव जीवनलाई कसरी सहज बनाउँछ भन्ने विषयमा विद्यार्थीहरूले अभिभावकलाई प्रस्ट पारे।

अभिभावक तथा पत्रकार ध्रुव भट्टराईले यस्ता गतिविधिले बालबालिकाको सिकाइ क्षमतालाई प्रभावकारी बनाउने बताउँदै छोरीहरूको परियोजना देख्दा आफूलाई गर्व लागेको प्रतिक्रिया दिए। अर्का अभिभावक राजेश गिरीले उचित वातावरण पाए बालबालिकाले धेरै गर्न सक्छन् भन्ने अनुभूति भएको बताउँदै यस्ता कार्यक्रमले शैक्षिक स्तर उकास्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

प्रदर्शनीमा करिब ८ सय विद्यार्थी विभिन्न समूहमा सहभागी भई सयौँ परियोजना प्रस्तुत गरेका थिए। विद्यालयका भाइस प्रिन्सिपल कुन्दन पुरीका अनुसार कक्षाकोठामा सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्ने यो प्रभावकारी प्लेटफर्म हो।

एभरेष्ट सेकेन्डरी स्कुलले बालबालिकामा अन्वेषण र आविष्कारप्रतिको चासो बढाउने उद्देश्यसहित ‘कारखाना’सँग सहकार्य गर्दै आएको छ। सोही सहकार्यअन्तर्गत यस वर्ष पनि प्रदर्शनी आयोजना गरिएको हो।

विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले हरेक वर्ष यस्ता गतिविधि गर्दै आएको स्मरण गर्दै यसले विद्यार्थीमा समूहमा काम गर्ने क्षमता, आत्मविश्वास र खोजप्रतिको रुचि बढाउने विश्वास व्यक्त गर्नुभयो।

तपाईको प्रतिक्रिया