रङ्गेलीः हालै गठित कोसी साहित्य कला परिषद्ले आफ्नो दोस्रो औपचारिक कार्यक्रमअन्तर्गत मोरङको रङ्गेली नगरपालिकामा ‘किसानसँग सिर्जना संवाद’ नामक रचनात्मक कार्यक्रम गरेको छ । किसानसँगै भुइँमा बसेर साहित्यको आस्वाद लिन नौलो प्रयोग गरिएको आयोजकले जनाएको छ ।

रङ्गेली साहित्य कला समाजको सहकार्यमा रङ्गेली नगरपालिका वडा नम्बर १ बबियाबिर्तास्थित हाटखोलामा कार्यक्रम भएको थियो । हाटखोलाको साहित्य चोकमा भेला भएका साहित्यानुरागीले भुइँमा बसेर कार्यक्रममा सहभागिता जनाउँदै नयाँ ढङ्गले साहित्यिक रसस्वादन गरेका थिए । आयोजक, सहभागी, अतिथि र उपस्थित सबै व्यक्ति भुइँमा पलेँटी कसेर बसेर ३ घण्टाभन्दा बढी समय किसानको भाव झल्किने सिर्जना सुनेर आह्लादित भएको स्थानीय चन्द्रप्रसाद आचार्यले बताए ।

कार्यक्रममा स्रष्टाहरू चन्द्रप्रसाद आचार्य (रङ्गेली), प्रकाश भट्टराई (बेलबारी), पुरन याक्खा (सुन्दरहरैंचा), इन्द्र न्यौपाने (झापा), एलिसा बिष्ट (रङ्गेली), बाबुराम पोखरेल (विराटनगर), डा. देवी पन्थी (काठमाडौं), नन्दकुमार राई (रङ्गेली), टीकालाल धिमाल (रङ्गेली), रुपनारायण श्रेष्ठ (सुन्दरहरैंचा), शैलेन घिमिरे (विराटनगर), मोतीराम ढुङ्गाना (रङ्गेली), रामनरेश झा (रङ्गेली), डम्बर खड्का (रङ्गेली)लगायतले आफ्ना रचना वाचन गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै रङ्गेली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप साहले आफू साहित्यिक आस्वादन गर्दै हुर्किएको व्यक्ति भएको र अहिले कृषि कर्म गरिरहेको व्यक्ति भएको हुनाले यस्तो नौलो कार्यक्रमबाट प्रभावित भएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैंचा कला साहित्य विकास समितिका पूर्व अध्यक्ष छवि वैरागी घिमिरे तथा अतिथिहरु चारु साहित्य प्रतिष्ठानका डा. देवी पन्थी, गीतकार इन्द्र न्यौपानेलगायतले आयोजकले उदाहरणीय काम गरेको बताए ।

रङ्गेली साहित्य कला समाजका अध्यक्ष चिरञ्जीवी काफ्लेको अध्यक्षतामा भएको कार्यक्रमको औचित्यमाथि कोसी साहित्य कला परिषद्का अध्यक्ष केशु विरहीले प्रष्ट्याउनुभएको थियो । परिषद्का सचिव नवराज पोखरल ‘नवशिला’ ले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष विष्णु भण्डारीले स्वागत मन्तव्य राखेकी थिइन् ।

कार्यक्रममा सानु हास्दाको टिमले सन्थाल भाषाको नृत्य प्रस्तुत गरेको थियो ।

तपाईको प्रतिक्रिया