काठमाडौँ। ओखलढुंगाको चिशंखुगढी गाउँपालिकामा एक जना विज्ञान विषयका शिक्षक मृत अवस्थामा फेला परेका छन् ।

चिशंखुगढी गाउँपालिका-७ र सोलुखुम्बुको नेचासल्यान गाउँपालिका-५ को सिमानामा रहेको गणेशथान माध्यमिक विद्यालयमा विज्ञान विषय अध्यापन गराउँदै आएको अन्दाजी ५६ वर्षीय राजेश्वरप्रसाद साह मृत फेला परेका हुन्।

सिराहाको कर्जहना नगरपालिका-६ स्थायी घर भएका साह हाल चिशंखुगढी गाउँपालिका-७ गैरीस्थित मणिप्रसाद श्रेष्ठको घरमा कोठा भाडामा लिएर बस्दै आएका थिए ।

आफ्नै सुत्ने कोठाको भित्तामा अडेस लागेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक मनिष लुइँटेलको कमाण्डमा पाँच जनाको प्रहरी टोली परिचालन गरिएको छ ।

प्रहरीका अनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार ल्याइएको छ । घटनाको कारण खुल्न बाँकी रहेकाले थप अनुसन्धान जारी छ ।

तपाईको प्रतिक्रिया