काठमाडौँ । नाबालिकाहरूलाई जबरजस्ती वेश्यावृत्तिको काममा लगाएको आरोपमा प्रहरीले काठमाडौँका स्पा र गेस्टहाउसमा छापा हानेर पाँच जनालाई पक्राउ गरेको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोले ठमेल, गोंगबु, चाबहिल, बौद्धलगायत क्षेत्रमा छापा हानेको हो ।
पक्राउ पर्नेहरूमा काठमाडौँ बुढानीलकण्ठ नगरपालिका-१३ बस्ने ३२ वर्षीय हेमन्त श्रेष्ठ, सिन्धुली दुधौली नगरपालिका-१२ घर भएकी ४० वर्षीया गीताकुमारी आचार्य, सल्यान कुमाख गाउँपालिका-४ घर भएका ४५ वर्षीय गोविन्द बुढाथोकी, बझाङ छबिसपाथीभेरा गाउँपालिका– १ घर भएका ४२ वर्षीय हरिभक्त गिरी र कैलाली गौरीगंगा नगरपालिका-६ घर भएका ४९ वर्षीय भीमबहादुर साउद रहेका छन् ।
काठमाडौं उपत्यकामा रहेका विभिन्न डान्सबार, क्लब, खाजाघर, स्पा सेन्टर तथा गेस्टहाउसलगायत दोहोरी सेन्टरहरूमा नाबालिकाहरूलाई आर्थिक लाभ लिई यौनशोषण र वेश्यावृत्तिमा लगाउने कार्य भइरहेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले काठमाडौं ठमेलस्थित गोल्डेन स्पा, चाबहिलस्थित फायर लाउन्ज एन्ड क्लब, बौद्धस्थित लक्की स्पा, मित्रनगरस्थित सुदूरपश्चिम खाजाघर र खप्तड सुदूरपश्चिम गेस्टहाउसबाट आठजना नाबालिकाहरूलाई उद्धार गरेको छ । पक्राउ परेकाउपर जिल्ला अदालत काठमाडौँबाट म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाइएको ब्युरोका एसपी विश्वराज खड्काले बताए।





