काठमाडौं — काठमाडौँ मेडिकल कलेज (केएमसी) ले मातृ तथा शिशु स्वास्थ्य सेवामा क्रान्तिकारी परिवर्तन ल्याउने नयाँ प्रविधि भित्र्याएको छ । यस प्रविधिको प्रयोगबाट अब गर्भमै रहेको शिशुको सम्पूर्ण स्वास्थ्य अवस्था, अंग–प्रत्यंगको विकास, संरचना तथा सम्भावित जोखिमबारे विस्तृत जानकारी प्राप्त गर्न सकिने भएको छ ।
नयाँ प्रविधि अत्याधुनिक फिटल स्क्यान तथा इमेजिङ प्रणालीमा आधारित रहेको केएमसीले जनाएको छ । यस प्रणालीमार्फत शिशुको मुटु, मस्तिष्क, फोक्सो, किड्नी, हड्डी संरचना तथा अन्य महत्त्वपूर्ण अंगहरूको विकास अवस्था प्रारम्भिक चरणमै पहिचान गर्न सकिन्छ । यसले गर्भावस्थामै देखिन सक्ने जटिलता, जन्मजात समस्या तथा जोखिमहरूको समयमै निदान गर्न सहयोग पु¥याउने विश्वास लिइएको छ ।
केएमसीका चिकित्सकहरूका अनुसार यो प्रविधि आमा र शिशु दुवैको सुरक्षाका लागि प्रभावकारी सावित हुनेछ । समयमै समस्या पहिचान हुन सके उपचार योजना बनाउने, आवश्यक परामर्श दिने तथा सुरक्षित प्रसूति सुनिश्चित गर्न सहज हुने उनीहरूको भनाइ छ । साथै, गर्भवती महिलालाई शिशुको अवस्थाबारे स्पष्ट जानकारी दिँदा मानसिक रूपमा पनि आश्वस्त बनाउन मद्दत पुग्नेछ ।
यस प्रविधि भित्रिएसँगै केएमसी मातृ तथा नवजात स्वास्थ्य सेवामा थप सुदृढ बनेको छ । स्वास्थ्य क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने केएमसीको लक्ष्यमा यसले महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ ।





