भोजपुर । नागरिकको फुसको छानो हटाउने अभियान अन्तर्गत भोजपुरको पौवादुङमा गाउँपालिकाले ५२५ परिवारलाई जस्तापाताको छानो वितरण गरेको छ । गाउँपालिकाले आफ्नै बजेटमा यहाँका गरिव विपन्न तथा आर्थिक रुपमा कमजोर परिवारलाई जस्तापाताको छानो वितरण गरेको हो ।
गाउँपालिकाले फुसको छानो हटाउने ‘कार्यविधि’ तयार गरेर जस्तापाताको छानो वितरण गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए । गाउँपालिकामा आवेदन दिएका ६९९ घर मध्ये हालसम्म ५२५ परिवारको छानो फेरिसकेको बताए ।
यो वर्षसम्म सवै परिवारको छानो फेर्ने काम सम्पन्न हुने उनले जानकारी दिए । यो वर्षका लागि रु.एक करोड २० लाख बराबरको बोलपत्र आह्वान भइसकेको छ । ‘गाउँपालिकाको फुसको छानो हटाउने अभियान अन्तर्गत ५२५ परिवारलाई छानो वितरण गरेका छौँ’उनले भने,‘यो वर्ष सवै परिवारमा जस्तापाताको छानो वितरण गरी सक्ने हाम्रो लक्ष्य छ ।’
हालसम्म छानो फेर्नको लागि गाउँपालिकाले दुई आर्थिक वर्षमा गरी दुई करोड ५० लाख खर्च गरिसकेको उनले बताए । गाउँपालिका भित्रका मापदण्डमा परेका मध्येबाट छ वटै वडाका गरिव, विपन्न, जेष्ठ, एकल महिला तथा दलित परिवारलाई प्राथमिकतामा राखेर छानो हटाउने काम भईरहेको उनको भनाइ छ ।
नागरिकको सवैभन्दा सुरक्षित थलो आफ्नो घर भएकाले उनीहरुलाई सहज र सुरक्षित रुपमा बास बस्न सक्ने वातावरण निर्माणको लागि फुसको छानो हटाउने अभियान सञ्चालन गरेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । केन्द्र सरकारबाट गाउँपालिकामा आउने फुसको छानो हटाउने कार्यक्रम कटौती भएकाले गाउँपालिकाले नीति तयार गरेर कार्यक्रम सञ्चालन गरेको उनको भनाइ छ ।
‘नागरिकको सवैभन्दा सुरक्षित स्थान आफ्नो घर हो’ अध्यक्ष राईले भने,‘आर्थिक अवस्था कमजोर हुँदा कतिपय परिवार वषौँबाट चुहिने घरमा बस्दै आएका थिए । ती नागरिकहरुलाई स्थानीय सरकारको अभिभावकत्व प्रदान गर्न निःशुल्क जस्तापाताको छानो दिएका हौँ । नागरिकलाई सुरक्षित आवासको अनुभूति दिलाउने हाम्रो लक्ष्य हो ।’
बढ्दो आगलागीको जोखिम, मनसुनमा हुने चुहावटको समस्या र आगालागीका कारण वर्षेनी हुने धनजनको क्षति न्यूनिकरण गर्ने उद्देश्यले फुसको छानो हटाउने कार्यक्रम सञ्चालन गरिएको उपाध्यक्ष ज्योत्सना राईले बताइन् । यसले नागरिकमा एकरुपतासँगै फुसको छानोको कारण वनमा लागेको आगो बस्तीमा पस्दा हुने क्षति न्यूनिकरणमा सहयोग पुग्ने उनको भनाइ छ ।
यो अभियान गन्तर्गत वडा न १ श्याशिलाका १३१, वडा नं २ तिवारी भञ्याङका ७१, वडा नं ३ च्याङ्ग्रेका १०६, वडा नं ४ बास्तिमका १०४, वडा नं ५ सोनादुम्का १३२ र वडा नं ६ ठुलोदुम्माका १५५ परिवार गरी, छ सय ९९ परिवारले जस्तापाताको छानो पाउनेछन् ।





