काठमाण्डाै – नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएकामध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएका छन् ।
पार्टी केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार लुम्बिनी प्रदेशबाट ४० वर्ष उमेरमुनिका लीलामणि गौतम र महिला केन्द्रीय सदस्यमा गुमादेवी आचार्य, मेनकाकुमारी पोखरेल र शान्तिदेवी ढकाल सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
यस्तै केन्द्रीय सदस्य युवा (४० वर्षमुनि) बाट नरेश रोकाया र सुशीलकुमार थापा, मधेश प्रदेशबाट ४० वर्षमुनिको उमेर समूहबाट केन्द्रीय सदस्यमा अमरकुमार यादव र रौनित साह, मुस्लिम महिला खाजिदा खातुन सिद्धिकी, पिछडिएको क्षेत्र महिलाबाट वदमी क्वारी बुढा (बाेहरा) र प्रवास दक्षिण एशियाबाट हरिप्रसाद घिमिरे सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
यस्तै दुई जनाकाे उम्मेदवारी खारेजी भएको छ । केन्द्रीय सदस्यका उम्मेदवार पासाङ शेर्पा र धर्मलाल गिरीकाे उम्मेदवारी खारेजी भएको निर्वाचन आयोगका उपाध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।
यस्तै एक उपमहासचिवसहित १४ जना केन्द्रीय उम्मेदवारले उम्मेदवारी फिर्ता लिनुभएको छ । उपमहासचिव पदमा उम्मेदवार दिनुभएका राजेन्द्र गौतमले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको हो । भृकुटीमण्डपमा चलिरहेकाे एमालेको महाधिवेशनको आज नयाँ नेतृत्वका लागि चुनाव हुँदैछ । चुनावमा २ हजार २६३ जना प्रतिनिधिले भाग लिनेछन् ।





