- महेश भट्टराई

महेश भट्टराई / भक्तपुर ।  भक्तपुरको सल्लाघारीमा शनिबार आयोजित नेकपा (एमाले) को एघारौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा शीर्ष नेताहरूले वर्तमान राजनीतिक गतिरोध, असंवैधानिक संसद् विघटन र देशको आगामी निकासका विषयमा आ–आफ्नो धारणा राखेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले देशलाई गलत दिशामा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सो पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको भक्तपुरको सल्लाघारीमा आयोजित उद्घाटनसत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अनेक चुनौती र प्रहारलाई चिर्दै एमालेको पक्षमा जनलहर उर्लिएको बताउनुभयो । एमाले कुनै राजनीतिक ‘स्टन्ट’ नगरी समृद्ध मुलुक बनाउने सङ्कल्पमा अग्रसर रहने जनाउँदै सुशासन र विकास चाहने सम्पूर्ण शक्तिले एमालेलाई साथ दिएको उल्लेख गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का  वरिष्ठ उपाध्यक्ष तथा अध्यक्षका दाबेदार ईश्वर पोखरेल

नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि मनोनीत १०८ जना महाधिवेशन प्रतिनिधिको सूचीप्रति पार्टीका वरिष्ठ उपाध्यक्ष तथा अध्यक्षका दाबेदार ईश्वर पोखरेलले असहमति जनाएका छन् ।

नेकपा एमालेका महासचिव शंकर पोखरेल

एमालेको ११औँ महाधिवेशनमा स्वागत मन्तव्यका क्रममा महासचिव पोखरेलले जेन जेडको प्रदर्शनपछि एमाले सकियो भन्नेहरूका लागि यो महाधिवेशन जवाफ भएको भन्दै आफूहरू राष्ट्रिय राजनीतिमा अग्रणी भागमा रहेको बताए । महासचिव पोखरेलले भदौ २३ र २४ पछि अध्यक्ष केपी शर्मा ओलीविरुद्ध षड्यन्त्र भइरहेको दाबी गर्दै देशलाई प्रतिगमनतर्फ धकेल्ने प्रयास भइरहेको आरोप लगाएका छन् ।
एमालेका उपमहासचिव प्रदीप ज्ञवाली

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा एमाले न्यातपोल जस्तै गौरव बोकेर र धरहरा जस्तै अनेक धक्का चिरेर पनि उठ्ने दाबी गरेका छन् । एमालेको ११ औँ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले महाधिवेशनमा राखिएको न्यातपोल दरबार र धरहराको राख्नुको कारण रहेको उल्लेख गरे ।

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले मुलुकलाई पुनः संवैधानिक बाटोमा फर्काउने एकमात्र आधार निष्पक्ष र शान्तिपूर्ण निर्वाचन रहेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले वर्तमान राजनीतिक अवस्थालाई संविधानभन्दा बाहिर जान नदिनका लागि संवैधानिक निकासको मार्ग भनेको निर्वाचन रहेको बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले राजनीतिक सङ्क्रमणको अन्त्य गर्दै आगामी निवार्चन समयमा सम्पन्न गराउन सबैले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँ मुलुकमा विद्यमान तरल राजनीतिक अवस्थाका चुनौती सामना गर्न महाधिवेशन राष्ट्रहिततर्फ केन्द्रित हुने अपेक्षा व्यक्त गर्नुभयो ।

नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव

नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अध्यक्ष ओलीको रोडम्यापसँग सहमति जनाउँदै निर्वाचनअघि सर्वपक्षीय अन्तरिम सरकार गठनको प्रस्ताव गरे। उनले वर्तमान सरकारलाई ‘अँध्यारो कुनाबाट बनेको अवैध सरकार’ को संज्ञा दिँदै भने, ‘देशलाई निकास दिन राजनीतिक शक्तिहरूले नै नेतृत्व गर्नुपर्छ। सर्वपक्षीय सरकार बनाएर संविधान पुनर्लेखन वा संशोधन जे गर्नुपर्छ, गरेर मात्र चुनावमा जानुपर्छ।’

नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङ

नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले कम्युनिस्टहरू एकताबद्ध भएर अघि बढ्नुको विकल्प नभएको बताउँदै राष्ट्रिय स्वाधीनताका लागि वाम एकतामा जोड दिए।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पुरानै संविधान ब्युँताएर मात्र समस्या समाधान नहुने भन्दै राजासहितको नयाँ समझदारी आवश्यक रहेको औँल्याए।

जनता समाजवादी पार्टी नेपालका प्रकाश अधिकारी

जनता समाजवादी पार्टी नेपालका प्रकाश अधिकारीले २०८४ को चुनाव २०८२ मा गर्न खोज्नुको औचित्य पुष्टि हुनुपर्ने बताए भने जनमत पार्टीका उपाध्यक्ष वसन्त कुशवाहाले एमालेसँग सहकार्य जारी राख्ने प्रतिबद्धता जनाए।
जनमत पार्टीका उपाध्यक्ष वसन्त कुशवाहा

जनमत पार्टीका उपाध्यक्ष वसन्त कुशवाहाले आफ्नो पार्टी एमालेसँग अझै सहकार्य गर्न तयार रहेको बताएका छन् । शनिबार एमालेको ११ औँ महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिँदै उनले सो कुरा बताएका हुन् ।

उनले देशको विषम परिस्थिति जनमत पार्टी नौलो गणतन्त्रका लागि सङ्घर्ष रहेको.धारणा राखे । उनले प्रदेश सरकार पूर्ण रूपमा सञ्चालित नरहेको बताउँदै उनले एमालेसँग सदैव सहकार्यमा रहेको समेत बताए ।

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले राष्ट्र निर्माणका सवालमा आफ्नो पार्टीले सहकार्य गर्न ढोका खुलै राखेको बताएकी छन् ।  नेकपा एमालेको ११औँ महाधिवेशनमा शुभकामना मन्तव्य दिँदै अध्यक्ष श्रेष्ठले यस्तो बताएकी हुन् । 

उनले नेकपा एमालेको ११औँ महाधिवेशनले राष्ट्रको स्थिरता, विकास र भावनात्मक एकताको दिशामा नयाँ अध्यायको सुरुवात हुन सकोस् भन्ने शुभकामना दिइन् ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का महासचिव सुरेन्द्र झा

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का महासचिव सुरेन्द्र झाले वर्तमान सुशीला कार्की नेतृत्वको सरकारले निर्वाचन गराउने भन्दा पनि अन्य काममा हात हालेको बताएका छन् । नेकपा एमालेको ११ औँ महाधिवेशनमा शुभकामना मन्तव्य राख्दै झाले के यो सरकार संवैधानिक सरकार हो ? भन्दै प्रश्न गरे । 

राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट

राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले जनेजी आन्दोलनका नाममा भदौ २३ पछि मुलुकमा असंवैधानिक सरकार बनेको बताएका छन् । 

नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा शुभकामना मन्तव्य राख्दै भट्टले यस्तो बताएका हुन् । आन्दोलनका नाममा असंवैधानिक सरकार बन्यो, त्यो सरकारको पहिलो काम प्रतिनिधि सभाको हत्या गर्नु रह्यो’, उनले भने, ‘राजा ज्ञानेन्द्रले जस्तै सुशीला कार्की सरकारको काम जननिर्वाचित संसदको हत्या गर्नु रह्यो ।’

तपाईको प्रतिक्रिया