काठमाडौँ । देशभर ९६ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत वर्ष साउन २५ गतेसम्म ९१.३१ प्रतिशत मात्रै रोपाइँ भएकोमा यस वर्ष सोही अवधिको तुलनामा रोपाइँको दर ४.७५ प्रतिशतले बढेको हो ।
देशभर धान खेती हुने कुल १३ लाख ७० हजार ६२ हेक्टर क्षेत्रफलमध्ये साउन २२ गतेसम्म १३ लाख १६ हजार ३९ हेक्टरमा रोपाइ सम्पन्न भएको मन्त्रालयले जनाएको छ।
प्रदेशगत रूपमा हेर्दा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै रोपाइँ भएको छ। उक्त प्रदेशमा धान खेती हुने १ लाख ५४ हजार ९५० हेक्टर क्षेत्रफलमै रोपाइँ सम्पन्न भएको छ । यो कुल क्षेत्रफलको शतप्रतिशत हो । गत वर्ष साउन २५ गतेसम्म सुदूरपश्चिममा ९९.७२ प्रतिशत रोपाइँ भएको थियो ।
बागमती प्रदेशमा ९७.८२ प्रतिशत र लुम्बिनी प्रदेशमा ९७.३७ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । त्यस्तै कर्णाली प्रदेशमा ९६.८२ प्रतिशत, गण्डकी प्रदेशमा ९५.५७ प्रतिशत र मधेश प्रदेशमा ९४.६५ प्रतिशत रोपाइँ भएको छ। कोशी प्रदेशमा भने ९३.६९ प्रतिशत धान रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।
मुख्य अन्न भण्डारका रूपमा रहेको मधेश प्रदेशमा यस वर्ष रोपाइँको अवस्था गत वर्षको तुलनामा निकै सुधार भएको छ । गत वर्ष साउन २५ गतेसम्म मधेशमा ७६.५४ प्रतिशत मात्रै रोपाइँ भएकोमा यस वर्ष साउन २२ गतेसम्म ९४.६५ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको हो । मधेश प्रदेशमा धान खेती हुने ३ लाख ८५ हजार ९३३ हेक्टर क्षेत्रफलमध्ये ३ लाख ६४ हजार २९१ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ ।
यस वर्ष समयमै मनसुन सक्रिय भई वर्षा भएकाले धान रोपाइँले गति लिएको मन्त्रालयले जनाएको छ । अधिकांश प्रदेशमा साउनको तेस्रो सातासम्मै रोपाइँ अन्तिम चरणमा पुगेको थियो ।
गत वर्षको तुलनामा यस वर्ष धान खेती हुने क्षेत्रफल भने केही घटेको छ । गत वर्ष १३ लाख ७८ हजार ९६७ हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरिएकोमा यस वर्ष यस्तो क्षेत्रफल घटेर १३ लाख ७० हजार ६२ हेक्टर कायम भएको छ ।







