विराटनगर / कोशी अस्पतालको शौचालयबाट भागेका एक थुनुवा अढाई महिनापछि पक्राउ परेका छन् । मोरङको कटहरी–१ का २० वर्षीय मोहम्मद राजु शुक्रबार बिहानका राति प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङकी निमित्त प्रमुख डीएसपी कोपिला चुँडालले जानकारी दिइन् । राजु चोरी मुद्दाका अभियुक्त हुन् ।
जिल्ला अदालत मोरङबाट पुर्पक्षका लागि थुनामा पठाइएका राजुलाई पेट दुखेपछि असोज १२ गते उपचारका लागि कोशी अस्पताल भर्ना गरिएको थियो । उपचाररत अवस्थामै शौचालय लाने क्रममा प्रहरीलाई छलेर भेन्टिलेसनबाट हामफालेर उनी फरार भएका थिए । लामो खोजतलासपछि सई सुवास अधिकारी नेतृत्वको टोलीले राजुलाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा समातेको हो ।
यसैबीच, विराटनगर–३ स्थित बाल सुधारगृहबाट कात्तिक २० गते फरार भएका ७ मध्ये एकजना बाल बिज्याइँकर्तालाई पनि प्रहरीले पक्राउ गरेको छ । मोरङको उर्लाबारी–६ का १९ वर्षीय ती किशोरलाई हवल्दार दर्शन श्रेष्ठ नेतृत्वको टोलीले विराटनगर–४ कञ्चनबारी नजिकबाट राति १ः१५ बजे पक्राउ गरेको डीएसपी चुँडालले बताइन् । कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा रहेकालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ ।
उक्त घटनापछि हालसम्म ३ जना पुनः पक्राउ परेका छन् भने ४ जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।





