धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा पन्ध्र सयभन्दा बढीको निःशुल्क स्वास्थ्य परिक्षण गरि औषधी वितरण गरिएको छ । निजामती कर्मचारी अस्पताल काठमाडौँको आयोजना तथा अर्खौले जितपुर सेवा समाज र महालक्ष्मी नगरपालिकाको सहकार्यमा बिहीबार र शुक्रबार दुई दिन निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।
महालक्ष्मी नगरपालिका–७ जितपुर बजारमा सञ्चालन निःशुल्क स्वास्थ्य शिविरबाट नगर भित्रका करिब १५ सयभन्दा बढी स्थानीयको स्वास्थ्य परिक्षण गरिएको थियो । यस्तै स्वास्थ्य परीक्षणसँगै बिरामीलाई आवश्यक औषधि समेत निःशुल्क वितरण गरिएको थियो ।
शिविरमा हाडजोर्नि, फिजियोथेरापी, स्त्री तथा प्रसूति सेवा, शल्य चिकित्सा, स्किन (छाला) रोग, आँखा, जनरल मेडिसिन, श्वासप्रश्वास रोग, इन्टरनल मेडिसिन, मानसिक स्वास्थ्य र बालरोग सेवा रहेका थिए । यस्तै नाक, कान, घाटी, फार्मेसी, भिडियो एक्स–रे, प्रयोगशाला, इ.सी.जी (मुटु जाँच), फोक्सो जाँच र दाँत रोग सम्बन्धि सेवा दिइएको अर्खौले जितपुर सेवा समाज धनकुटाका संस्थापक अध्यक्ष खगेन्द्र नेपालले जनाकारी दिनुभयो ।
जन्म, कर्म र पैतृक थलो भई काठमाडौँ उपत्यकामा बसोबास गर्ने आएका समाजका परिवारका सदस्यहरूलाई प्रत्यक्ष सम्पर्कमा रही नगरको स्वास्थ्य, शिक्षा र पर्यटन लगायतका क्षेत्रमा योगदान स्वरूप शिविर सञ्चालन गरिएको नेपालले बताउनुभयो ।
शिविरले बिरामी भएर आर्थिक अवस्था कमजोर भएर अस्पताल जान नसकेकाहरूलाई विशेष टेवा पुगेको महालक्ष्मी नगर प्रमुख ध्रुवराज रायले बताउनुभयो । शिविरले नगर क्षेत्रका नागरिकको रोग परिक्षण गरी थप उपचारमा गर्न सहयोग गरेको नगर प्रमुख रायको भनाई छ ।





