इटहरी : भोजपुरमा ८ वर्षअघि पत्नीको हत्या गरेर फरार भएका अभियुक्त नारदमणि राईलाई प्रहरीले मोरङको बेलबारीबाट पक्राउ गरिएको छ।

भोजपुर–६ देउरालीका ६३ वर्षीय राईले २०७४ साउन १९ गते राति करिब १ बजे घरायसी विवादका क्रममा पत्नी अम्बिका श्रेष्ठ (राई), ४६ को कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

श्रीमतीको हत्या गरेलगत्तै उनी गाउँबाट फरार भएका थिए । त्यसयता लामो समयदेखि प्रहरीको फरार सूचीमा थिए।

प्रहरी अनुसार राई मोरङको बेलबारी–३ मा छत्रबहादुर गुरुङको घरमा डेरा लिएर सामान्य नागरिक झैँ बस्दै आएका थिए।

उनले वास्तविक परिचय उल्लेख नगरी स्थानीयसँग घुलमिल भइसकेपछि निगरानी कठिन बनेको प्रहरी स्रोत बताउँछ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुर र इलाका प्रहरी कार्यालय बेलबारीको संयुक्त टोलीले उनलाई कोठा नजिकैबाट नियन्त्रणमा लिएको हो।

भोजपुरबाट छुट्टै टोली आएलगत्तै मोरङ प्रहरीले समन्वय गर्दै उनलाई भोजपुर नै पठाइएको छ।

हाल राई जिल्ला प्रहरी कार्यालय भोजपुरको हिरासतमा छन्।

कर्तव्य ज्यान मुद्दामा अदालतबाट आवश्यक म्याद लिई थप अनुसन्धान अगाडि बढाइएको निमित्त प्रमुख इन्स्पेक्टर महेन्द्र पराजुलीले जानकारी दिए।

तपाईको प्रतिक्रिया