विराटनगर ÷लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको सन्दर्भ पारेर विराटनगरमा ‘मानवअधिकार, निर्वाचन र सुशासन विषयक अन्तर पुस्ता संवाद’कार्यक्रम सम्पन्न भएको छ । गैससमहासंघ मोरङ र एकल महिला समूहको संयुक्त आयोजनामा भएको कार्यक्रममा वक्ताहरुले सुशासन भए मात्रै देशमा मानव अधिकार स्थापित हुने धारणा राखे ।
जेनजी आन्दोलन पछि मुलुक आर्थिक, सामाजिक र राजनैतिक रुपमा रुपान्तरणको बाटोमा अगाडि बढेको बताउँदै उनीहरुले परिवर्तनलाई आत्मसात गरेर देशमा आर्थिक समृद्धि र सुशासन कायम गर्नुपर्नेमा जोड दिए । मानव अधिकारका लागि महिला एकल महिला समूहकी अध्यक्ष चूडा भट्टराई रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा मानवअधिकार आयोगका प्रदेश प्रमुख वीरबहादुर बुढामगर र मानव अधिकार सञ्जाल मोरङका अध्यक्ष वासु अधिकारीले कार्यपत्र प्रस्तुत गरेका थिए ।
गैसस महासंघ मोरङकी अध्यक्ष विष्णु शर्माले कार्यक्रमको विषयवस्तु माथि प्रकाश पारेकी थिइन् । सो अवसरमा जिल्ला समन्वय समिति मोरङकी उपप्रमुख उषा झा, जेनजी अगुवा प्रवेश दाहाललगायतले विषयवस्तु माथि केन्द्रित रहेर आ–आफ्ना धारणा राखेका थिए ।





