लालबन्दी — पूर्वपश्चिम राजमार्ग विस्तारको काम तीव्र गतिमा अघि बढेसँगै सर्लाही, महोत्तरी र धनुषा गरी तीन जिल्लामा करिब ११ हजार ५७७ रुख काटिने प्रक्रिया सुरु भएको छ। लामो समय रोकिएको रुख कटानसम्बन्धी अनुमति प्रक्रिया पूरा भएपछि मात्र अब सडक विस्तारसँगै रुख हटाउने काम सुचारु हुन लागेको हो।

कमला–ढल्केबर–पथलैया सडक योजना अन्तर्गत सबैभन्दा धेरै रुख महोत्तरीमा काटिनेछन्, जहाँ ६ हजार २७ वटा रुख हटाइने छन्। सर्लाहीमा ३ हजार ६७४ र धनुषामा १ हजार ८७६ रुख काटिने अनुमान छ। अधिकांश रुख साल प्रजातिका रहेको वन डिभिजनले जनाएको छ।

सर्लाही र धनुषामा रुख कटान सुरु भइसकेको छ भने महोत्तरीमा केही प्राविधिक प्रक्रिया बाँकी रहेकाले केही दिन ढिला हुने बताइएको छ। मन्त्रिपरिषद् स्तरमै निर्णय आवश्यक पर्ने भएकाले अनुमति प्रक्रिया लामो भएको र यसले सडक विस्तारमा महिनौँ ढिलाइ गरेको स्रोतले जनाएको छ।

अनुमति प्राप्त भएसँगै ठेकेदारमार्फत रुख हटाउने काम अघि बढाइएको छ। काटिएका रुखहरू सुरक्षित रूपमा डिभिजन वन कार्यालयमा बुझाइने छन् र त्यसपछि लिलामी प्रक्रिया अघि बढाइनेछ।

आयोजनाका प्रमुख राजेश कुमार दासका अनुसार रुख कटान अनुमति मिले पनि बिजुलीका पोल र खानेपानी पाइप स्थानान्तरण मुख्य चुनौती बनेका छन्। यी संरचना नहट्दा कतिपय स्थानमा रुख काट्न र सडक विस्तार गर्न अवरोध जारी छ।

करिब १३० किलोमिटर लम्बाइको कमला पुलदेखि पथलैयासम्मको सडक पूर्वी (सर्लाही, महोत्तरी, धनुषा) र पश्चिमी (रौतहट, बारा) खण्ड गरी छुट्टाछुट्टै कार्यालयमार्फत विस्तार भइरहेको छ। बजार क्षेत्रको सडक छ लेनसहित ३१ मिटरमा र अन्य क्षेत्र चार लेनसहित १८ मिटर चौडाइमा विस्तार गर्ने योजना छ।

विश्व बैंकले परियोजनाका लागि १८ अर्ब ६० करोड रुपैयाँ ऋण सहयोग उपलब्ध गराएको छ।

तपाईको प्रतिक्रिया