काठमाडौं / नयाँ लागू भएको भन्सार ऐन, २०८२ का विवादास्पद प्रावधानको विरोधमा भन्सार एजेन्टहरूले विराटनगरसहित मुलुकभर पेन–डाउन गरेपछि सबै भन्सार कार्यालयका जाँचपास सेवा तेस्रो दिनसम्म पूर्ण रूपमा अवरुद्ध बनेका छन् । भन्सार एजेन्ट महासंघ नेपालको आह्वानमा सुरु गरिएको आन्दोलनले आयात–निर्यात हुँदै आएको सामान थुनिएको छ भने दैनिक राजश्व संकलनमा ठूलो गिरावट देखिएको छ ।
भन्सार एजेन्ट महासंघको आह्वानमा विराटनगर भन्सार कार्यालयमा पनि पेनडाउन गरिएको भन्सार एजेन्ट प्रविण जोशीले बताए । जसका कारण राजस्व संकलन ठप्प भएको छ ।
महासंघका अनुसार २१ मंसिरदेखि लागू भएको नयाँ ऐनले भन्सार प्रक्रियालाई सहज बनाउनेभन्दा उल्टो भन्सार एजेन्टको पेशागत अधिकार खुम्च्याउने, उद्योग–व्यवसाय र वैध व्यापारको वातावरण कमजोर पार्ने गरी प्रावधान थपिएको छ । विशेषतः दण्ड–जरिवाना, इजाजतपत्र नवीकरण, निलम्बन प्रक्रिया, बैंक जमानत, जाँचपासमा तजबीजी अधिकार विस्तार तथा कम्प्युटर प्रणालीसँग जोडिएका युजर–आइडी र ‘इन–आउट नोट’ सम्बन्धी प्रावधानप्रति महासंघले आपत्ति जनाउँदै आएको छ ।
महासंघका केन्द्रिय सदस्य उमेश घिमिरेका अनुसार, ‘ऐन मस्यौदा चरणदेखि नै व्यावहारिक प्रावधान समावेश गर्न आग्रह गरिएका विषयहरू अवहेलित गरिए । ‘उल्टै अनावश्यक दण्ड–जरिवाना थपेर भन्सार एजेन्सी व्यवसाय नै धरापमा पार्ने वातावरण बनाइयो,’ घिमिरेले भने ।
उनका अनुसार भन्सार स्वचालन प्रणालीको लगातार बिग्रने अवस्था, सर्वर समस्या, राजश्व भुक्तानीको जटिलता तथा क्वारेन्टाइन प्रक्रियामा हुने ढिलाइबारे विभागलाई पटक–पटक ध्यानाकर्षण गराए पनि समस्या समाधान नभएकै कारण आन्दोलन अपरिहार्य बनेको हो ।
पेन–डाउन आन्दोलन आइतबार वीरगञ्ज भन्सारबाट सुरु भएको थियो । सोमबार भैरहवा भन्सार पूर्ण रूपमा ठप्प रह्यो । मंगलबार देशभरका सबै भन्सार कार्यालयमा जाँचपास र सेवा अवरुद्ध भएपछि सरकारको दैनिक राजश्व संकलनमा प्रत्यक्ष असर परेको महासंघको दाबी छ ।
महासंघले माग सम्बोधन नभए थप कडा आन्दोलनका कार्यक्रम मंगलबार नै सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।





