विराटचोकः नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आज मंसिर २२ गतेदेखि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ ।
सो कम्पनीले सार्वजनिक निष्काशनका लागि छुट्याइएको साधारण शेयरको १० प्रतिशत अर्थात १ लाख १५ हजार ५९६ कित्ता शेयर निष्काशन गर्न लागेको हो । कम्पनीको प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ रहे पनि बुक बिल्डिङमार्फत् आईपीओ बिक्री हुने भएकाले सो कम्पनीको आईपीओ किन्न प्रतिशेयर मूल्य ८२० रुपैयाँ ८० पैसा तोकिएको छ ।
बुक बिल्डिङ्ग निर्देशिका, २०७७ को दफा (१३) को उपदफा (१) बमोजिम बोलकबोल प्रणाली मार्फत आवेदन दिने योग्य संस्थागत लगानीकर्ताहरुलाई ७ लाख ७० हजार ६४० कित्ता शेयर बाँडफाँड गर्दा कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको थियो । सो मूल्यमा १० प्रतिशत छुटमा सर्वसाधारणका लागि आईपीओ बिक्री हुन लागेको हो ।
लगानीकर्ताले न्यूनतम ५० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । निष्काशन बन्द छिटोमा मंसिर २५ गते हुनेछ । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि पुस ७ गतेसम्म लम्बिने कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्गद्वारा सञ्चालित सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत् आवेदन दिन सक्नेछन् ।
रिलायन्स स्पिनिङ मिल नेपालको धागो उत्पादन गर्ने उद्योगहरुमध्ये रोजगारदाता उद्योगको रुपमा पनि सबैभन्दा ठूलो उद्योगको रुपमा रहेको छ । कम्पनीले आफ्नो उत्पादनको ७० देखि ७५ प्रतिशतभन्दा बढी उत्पादनहरु भारत, टर्की, भियतनाम, बेलायतलगायतका विभिन्न मुलुकहरुमा निर्यात गर्दै आएको छ । कम्पनीका अध्यक्ष पवनकुमार गोल्याण र प्रबन्ध सञ्चालक अक्षय गोल्याण हुन् । कम्पनीको उद्योग ईटहरी नगरपालिका वडा नं. १२ खनार, सुनसरीमा रहेको छ ।
योग्य संस्थागत लगानीकर्ताले भने यस कम्पनीको आईपीओ २ वर्ष अघि नै खरीद गरिसकेका छन् । त्यसपछि अदालतमा मुद्दा परेर कम्पनीको आईपीओ निस्कासन प्रक्रिया रोकिएको थियो ।





