काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ पुस्ताको चाहना अनुसार राजनीतिक नेतृत्वले आफूलाई रूपान्तरण गर्दै लैजान आवश्यक रहेको बताउनुभएको छ ।
ललितपुर महानगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको आज शुभारम्भ गर्दै उहाँले युवा पुस्ताको चाहनालाई पूरा गर्न तथा देशको वर्तमान परिस्थितिलाई निकास दिनका लागि आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको चुनावलाई सफल बनाउन आह्वान पनि गर्नुभयो ।
नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुशी ल्याउन सक्ने विकास आजको आवश्यकता रहेको उहाँको भनाइ छ ।
राष्ट्रपति पौडेलले पालिका नागरिकको नजिकको सरकार भएकाले उसले दिने सेवा र प्रदान गर्ने सुशासनले नै व्यवस्थाप्रति नागरिकको भरोसा अभिवृद्धि गर्ने बताउनुभयो । लोकतन्त्र केवल शासन व्यवस्था मात्र नभइ लोकको आवाज सुन्ने र उनीहरूको चाहना अनुरूप काम गर्ने संस्कार र शैली भएको उहाँको भनाइ छ ।
राष्ट्रपति पौडेलले नागरिकका गुनासा, असन्तुष्टि, माग सुन्ने र तिनलाई बुझ्न घरदैलोमा पुग्ने लोकतान्त्रिक आचरण र शैली पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताउनुभयो ।
यस्तै कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले सङ्कटमा पनि आफ्नो महानगरपालिकाले पूरा गर्नुपर्ने दायित्वबाट पछि नहटेको बताउनुभयाे । उहाँले विपद् व्यवस्थाका लागि आफूहरूले आवश्यक सबै अवयवहरूको व्यवस्थापन एउटै छानामुनि गरेको र त्यसलाई अझ प्रभावकारी बनाउनका लागि छिट्टै थप दुई वटा एम्बुलेन्स व्यवस्था गर्न लागिएको जानकारी दिनुभयो ।
विपद् व्यवस्थापनका लागि आफूहरूले दमकल निस्केपछि एम्बुलेन्स पनि सँगै लैजाने व्यवस्था गरिएको पनि मेयर महर्जनले बताउनुभयो ।
आज उद्घाटन भएकाे अत्याधुनिक सुविधासहितको भवन भूकम्प प्रतिरोधी र अपाङ्गतामैत्री रहेको महानगरले जनाएको छ । झन्डै ५३ करोड रुपैयाँ लागतमा बनेको नयाँ भवनको क्षेत्रफल ५० हजार वर्ग फिट रहेको छ ।





