काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसअघि घोषणा गरिएका विभिन्न विधाका पुरस्कारहरू हिजो प्रदान गरेको छ ।
काठमाण्डौ आयोजित कार्यक्रममा संस्कृतिमन्त्री बद्रीप्रसाद पाण्डे र पूर्वमन्त्री एवम् सांसद छविलाल विश्वकर्माले पुरस्कार प्रदान गर्नुभएको हो ।
मन्त्रालयले चार विधामा राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गरेको छ । यस्तै प्रादेशिक पुरस्कार तथा अन्य विविध पुरस्कारसमेत हिजो नै प्रदान गरेको छ ।
चार विधामा राष्ट्रिय प्रतिभा पुरस्कार र विभिन्न विधामा प्रादेशिक पुरस्कार प्रदान गरिएको छ । जनही एक लाख रुपैयाँ राशिको राष्ट्रिय प्रतिभा पुरस्कार भाषा र साहित्यतर्फ रामेछापका अमृत योञ्जन तामाङ, संस्कृतितर्फ मोरङका डा.सोमबहादुर धिमाल, सङ्गीत तथा नाट्यतर्फ बाजुराका राजेन्द्रबहादुर शाह र ललितकलातर्फ काठमाण्डौका मुकेश मल्ललाई प्रदान गरिएको छ ।
यस्तै विधागतरूपमा प्रादेशिक प्रतिभा पुरस्कार पनि हिजो नै वितरण गरिएको छ । जसअनुसार भाषा तथा साहित्य विधातर्फ कोशी प्रदेशबाट विमला तुम्खेवा, मधेश प्रदेशबाट श्यामसुन्दर शाह, बागमतीबाट नर्मदेश्वरी सत्याल, गण्डकी प्रदेशबाट मीनराज वसन्त रेग्मी, लुम्बिनी प्रदेशबाट भगवानदास यादव, कणाली प्रदशेबाट समिर शाह र सुदूरपश्चिम प्रदेशबाट नरेन्द्रप्रसाद भट्टलाई प्रदान गरिएको छ ।
यस्तै संस्कृति विधातर्फ प्रादेश पुरस्कार पाउनेहरूमा कोशीबाट कमलजङ राई, मधेश प्रदेशबाट शीतल गिरी, बागमती प्रदेशबाट तारादेवी सुनार, गण्डकी प्रदेशबाट भक्तिप्रसाद शर्मा, लुम्बिनी प्रदेशबाट इन्द्रिस खाँ, कर्णाली प्रदेशबाट मोतिराम बम र सुदूरपश्चिम प्रदेशबाट देवेन्द्रप्रसाद भट्ट रहनुभएको छ ।
यसैगरी सङ्गीत तथा नाट्य विधातर्फ प्रादेशिक पुरस्कार पाउनेहरूमा कोशी प्रदेशबाट विपिन पौडेल, मधेश प्रदेशबाट शिवशङ्कर रिजाल, बागमती प्रदेशबाट सुदेशराज शर्मा, गण्डकी प्रदेशबाट दिया मास्के, लुम्बिनी प्रदेशबाट उदिराम खड्का, कर्णाली प्रदेशबाट तिलक परियार र सुदूरपश्चिम प्रदेशबाट प्रकाश थापा रहनुभएको छ ।
यस्तै ललितकला विधातर्फ कोशीबाट हिम्मतबहादुर लिम्बू, मधेश प्रदेशबाट गतिाकुमारी ठाकुर, बागमती प्रदेशबाट प्रमिला बज्राचार्य, गण्डकी प्रदेशबाट शशीध्वज तुलाचन, लुम्बिनी प्रदेशबाट हरिराम अधिकारी कर्णाली प्रदेशबाट थेक्क्षोक तामाङ र सुदूरपश्चिम प्रदेशबाट मित्थु चौधरीलाई प्रादेशिक प्रतिभा पुरस्कार प्रदान गरिएको थियो ।
यस्तै जनही एक लाख रुपैयाँ राशि रहेको महाकवि देवकोटा राष्ट्रिय पुरस्कारबाट हिजो नै पाँच जनालाई पुरस्कृत गरिएको छ । यसरी पुरस्कार पाउनेमा कवितार्फत तीर्थ श्रेष्ठ, निबन्धतर्फ लक्ष्मण गौतम, गद्य÷आख्यानतर्फ नारायण ढकाल, लोक साहित्यतर्फ कल्पना प्रधान र भाषा साहित्यतर्फ रेशम विरही रहनुभएका छ ।
मन्त्रालयले एक लाख राशिकै आदिकवि भानुभक्त आचार्य राष्ट्रिय पुरस्कारबाट साहित्यकार रामप्रसाद ज्ञवालीलाई सम्मान गरेको छ । गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कारमा काव्यतर्फ भरतबहादुर भण्डारी र नाटकतर्फ किरण चाम्लिङ राईलाई प्रदान गरिएको छ । पुरस्कारको राशि पनि जनही एक लाख रुपैयाँ रहेको छ ।
योगमाया राष्ट्रिय पुरस्कार निलम कार्की निहारिका, भगत सर्वजित मानव मर्यादा, राष्ट्रिय पुरस्कारबाट मानबहादुर विश्वकर्मा र भीमकान्त पन्थीलाई प्रदान गरिएको छ । त्यस्तै भगत सर्वजित मानवमर्यदा राष्ट्रिय पुरस्कारबाट जागरण मिडिया सेन्टरद्वारा निर्मित ‘दलन’ टेलिसिरियललाई सम्मान गरिएको छ ।
युगकवि सिद्धिचरण श्रेष्ठ राष्ट्रिय पुरस्कारबाट प्रा.डा.देवीप्रसाद नेपाललाई सम्मान गरिएको छ । ती पुरस्कारको राशि पनि जनही एक लाख रुपैयाँ रहेको छ ।
इतिहास शिरोमणि बाबुराम आचार्य राष्ट्रिय पुरस्कारबाट नेपालमा खोज अनुसन्धानमा सक्रिय बेलायती नागरिक जोन वेल्पटनलाई सम्मान गरिएको छ । पुरस्कारको राशि दुई लाख रुपैयाँ रहेको छ ।
यस्तै एक लाख राशिकै शताब्दीपुरुष सत्यमोहन जोशी राष्ट्रिय पुरस्कारबाट प्रा.डा.वीणा पौडेललाई प्रदान गरिएको छ ।