काठमाडौं। नेपाल विद्युत प्राधिकरणले चितवनको चनौली वितरण केन्द्रअन्तर्गतका केही स्थानमा देखिएको विद्युत आपूर्तिको अवरोध लोडसेडिङ नभई स्पष्ट पारेको छ।
आइतबार प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो। प्राधिकरणले सामाजिक सञ्जालमा ‘लोडसेडिङ तालिका’ भनेर भ्रामक प्रचार गरिएको भन्दै ध्यानाकर्षण गराएको हो।
लोडसेडिङ नेपालका लागि इतिहास भइसकेको भन्दै यस्ता गलत मनसायले फैलाइएको हल्लाकापछि नलाग्न आम उपभोक्तालाई आग्रह समेत गरिएको छ।
प्राधिकरणद्वारा जारी सूचनामा भनिएको छ, ‘वर्षातको समयमा अपेक्षाकृत पानी नपर्दा आइपरेको खडेरीका कारण अत्यधिक मात्रामा बढेको सिँचाइ लोड व्यवस्थापनका लागि विद्युत लाइन तथा ट्रन्सफर्मरहरु अदली बदली गर्नुपर्ने हुँदा सोको लागि लाइन अवरुद्ध हुने समय तालिका मात्र सार्वजनिक गरिएको हो।’
प्राधिकरणले चनौली क्षेत्रको समस्या दीर्घकालीन रूपमा समाधान गर्न बसेनी १३२ केभी सबस्टेसनबाट चनौली सबस्टेसनसम्म नयाँ ३३ केभी लाइन निर्माणको काम अन्तिम चरणमा पुगेको र सो सम्पन्न भएपछि समस्या पूर्ण रूपमा हट्ने विश्वास व्यक्त गरेको छ।