काठमाडौं। नेपालको अन्न भण्डार मानिने मधेस प्रदेशमा वर्षा नहुँदा सर्वसाधरण खानेपानीको खोजीमा भौतारिएका छन्। बर्खायाममा खडेरी परेपछि सर्वसाधरण खानेपानीको चपेटामा हुँदै गर्दा खेत रोपाइँ प्रभावित भएको छ।
खेत रोपाइँको मौसम सकिन लाग्दा पनि यस प्रदेशमा जम्मा ५२ प्रतिशत मात्रै खेत रोपिएको छ। सिँचाइ सुविधा नहुँदा खेतमै धानको बेर्ना मर्न थालेको छ। यस प्रदेशमा चरम खडेरी परेसँगै सरकारले संकटकाल घोषणा गरेको छ।
गत वर्ष मधेस प्रदेशमा यो अवधिसम्म ९२ प्रतिशत धान रोपाइँ सकिएको थियो। यो वर्ष यस प्रदेशमा गत आर्थिक वर्षको तुलनामा झण्डै आधा मात्रै धान रोपाइँ हुन सकेको हो।
यस्तै, सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा शतप्रतिशत अर्थात ९९ प्रतिशत धान रोपाइँ सकिएको छ। यस प्रदेशमा एक लाख ७६ हजार हेक्टरमा धान रोपाइँ भएको हो।
यसैगरी, कोशीमा ८० प्रतिशत धान रोपाइँ हुँदा बागमती प्रदेशमा ८७ प्रतिशत धान रोपाइँ सकिएको छ। गण्डकीमा ८४, लुम्बिनीमा ९२ र कर्णालीमा ९१ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ।
यस वर्ष कूल ७९ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ। गत वर्षको सोही अवधिमा देशभर ९२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको थियो।