उर्लाबारी । मोरङको उर्लाबारी-९ आम्बारी चासोक स्थलमा परिवारको सम्झनामा सिलाम साक्मा बनाईएको छ ।
स्वर्गीय लक्ष्मीमाया हुक्पा चोङबाङ थक्लुङको स्मृतिमा उहाँको परिवारले करिब साढे ३ लाख लागतमा सिलाम साक्मा बनाईदिनुभएको हो ।
किराँत याक्थुम चुम्लुङ उर्लाबारी नगर शाखालाई एक कार्यक्रमका सिलाम साक्माको अनावरण गरि थक्लुङ परिवारले हस्तान्तरण गरेको छ ।
हस्तान्तरण कार्यक्रममा बोल्नुहुँदै छोरा सुमन थक्लुङले भन्नुभयो- हाम्रो आमा जातिय कला सस्कृतीमा निक्कै लगाब राख्नुहुन्थियो, उहाँको सम्झनालाई जिवन्त राख्न समाजको आवश्यकताको महसुस गर्दै उहाँको स्मृतिमा सिलाम साक्मा निर्माण गरिदिएका हौं ।
किराँत याक्थुम चुम्लुङका अध्यक्ष बानु सुब्बाले सिलाम साक्मा निर्माणकर्ता दाता थक्लुङ परिवारलाई धन्यवाद तथा आभार प्रकट गर्नुभयो । उहाँले भन्नुभयो, उहाँहरुले परिवारको स्मृतिमा सिलाम साक्मा निर्माण गरिदिनुभएको छ । समुदायमा आधारित सहयोगले नै गाउँठाउँको बिकास हुने हो । परिवारको स्मृति सङ्गै सस्कृतीको मौलिकता र जगेर्ना हो । नयाँ पुस्तामा ईतिहास पुस्तान्तरण हुने हो ।
हस्तान्तरण कार्यक्रममा स्वर्गिय लक्ष्मीमायाका श्रीमान धर्महाङ थक्लुङ, किरात याक्थुम चुम्लुङ उर्लाबारी नगर अध्यक्ष बानु सुब्बा, वडा सदस्य गणेश किम्दाङ, अरनिको हस्पिटल प्रालिका अध्यक्ष लोलिम पोमु, गायक डम्बर नेपाली, नेपाली काङ्ग्रेस उर्लाबारी नगर सचिब राजन रायमाझी लगायत चुम्लुङका कार्यसमिति,थक्लुङ परिवार लगायत स्थानीयको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सन्चालन रबि मादेनले गर्नुभएको थियो ।
२०१५ साल पुस १५ गते तेह्रथुम जिल्ला सम्दु-८ मा बुवा जमान सिंह हुक्पा चोङबाङ र आमा गौमाया हुक्पा चोङबाङको कोखबाट जन्मलिनुभएकी लक्ष्मीमायाको २०७६ साल भदौ २७ गते निधन भएको थियो ।
के हो, सिलाम साक्मा?
लिम्बु जातिको सघन बसोबास भएको क्षेत्रमा हुने सार्वजनिक समारोहमा अतिथिलाई अचेल ब्याजको सट्टा आकर्षक ‘सिलाम साक्मा’ लगाइदिई स्वागत र सम्मान गरिन्छ। बाँसको दुई कप्टेरोमा विभिन्न रङका धागो हातले जडेर बनाइएको चारकुने सिलाम साक्माको छेउमा फुर्को राखिएको हुन्छ। सामाजिक वा सार्वजनिक समारोहमा सहभागी हुन महिला–पुरुष छातीमा सिलाम साक्मा सजाएर पुग्ने गर्छन्। सिलाम साक्मा मुन्धुम र लिम्बु परम्पराको महत्वपूर्ण तङसिङ संस्कारमा प्रयोग हुने गर्छ।
अधिकांश लिम्बु संघ–संस्थाको लोगो सिलाम साक्मा आकारको छ। घरको सजावटमा पनि यसको प्रयोग गरिन्छ। लिम्बु जातिको परम्परा र संस्कृतिमा आधारित यसको प्रयोग अरू जातिले पनि गर्छन्।
लिम्बु भाषाको ‘सिलाम साक्मा’ शब्दले मृत्युको बाटो छेक्ने अर्थ दिने याक्थुङ उर्लाबारीका अध्यक्ष बानु सुब्बा बताउनुहुन्छ । उहाँका अनुसार ‘सि’को अर्थ मृत्यु, ‘लाम’को अर्थ बाटो र ‘साक्मा’ अर्थ रोक्नु भन्ने लाग्छ। यसर्थ मृत्युको बाटो रोक्नेका रूपमा सिलाम साक्मालाई लिइन्छ। प्रसिद्ध तङसिङ तक्मा अनुष्ठानसँग सिलाम साक्मा जोडिन्छ।
‘पहिले यो धातु र छालाको बन्ने गथ्र्यो। हतियारको प्रहारबाट रोक्नका लागि प्रयोग हुन्थ्यो। पछि तान्त्रिक रूपमा पूजामा राख्न थालियो,’ सुब्बा भन्नुहुन्छ, ‘नराम्रो कुरा रोक्नका लागि यसो गरिन्थ्यो। यो बाँस र बेत बाँसबाट पनि बनाइन्थ्यो। पछि धागो र बाँसको बनाउन थालियो। तङसिङमा सहभागीलाई घरमा राख्नका लागि सिलाम साक्मा दिइन्छ। यो महत्वपूर्ण परम्पराको निरन्तरता हो।’
अघिल्लो सभ्यताको कुरा पछिल्लो सभ्यतामा लैजानका लागि यो अनुष्ठान हुने सुब्बा बताउनुहुन्छ । उहाँका अनुसार साम्बले मुन्धुम वाचन गर्ने गर्छन्। यही तङसिङबाट सिलाम साक्मा बनाएर सहभागीको घरमा राख्नका लागि लगिन्थ्यो।
सिलाम साक्मालाई जीवनको सुरक्षा कवजको रूपमा लिइन्छ। ‘पहिले अनुष्ठान गर्दा घरघरमा राखिन्थ्यो। पछिल्लो समय पाहुना तथा सार्वजनिक समारोहमा प्रयोग गर्न थालिएको छ,’ सुब्बा भन्नुहुन्छ, ‘पाहुना अतिथिको सुरक्षा होस् भन्ने विश्वासका साथ यो लगाइन्छ।’
संस्कारमा तङसिङ र याग्राङसिङ अनुष्ठान अति महत्वपूर्ण हुने बताइन्छ। यी अनुष्ठानमा सिलाम साक्मा बनाएर प्रयोग गरिन्छ। मानव जीवनको उपकारका लागि तङसिङ गरिन्छ। यस्तै अकालमा मृत्यु भएकाको आत्मालाई ठेगान लगाउन याग्रासिङ अनुष्ठान गरिन्छ । ‘यही अनुष्ठानमा प्रयोग हुने सिलाम साक्माको प्रतीक चिह्न सार्वजनिक कार्यक्रम तथा जीवनमा प्रयोग गरिन्छ।’ अतङसिङ, सिलाम साक्मा येहाङ दर्शनमा आधारित छ।
पूजाका लागि सिलाम साक्मा सेतो धागोको बनाइन्छ। अचेल सुन्दरताका लागि विभिन्न रङका धागोको प्रयोग गरी बनाइन्छ ।





