विराटनगर — निजी स्वास्थ्य संस्थाहरूमा नर्सहरूलाई न्यूनतम पारिश्रमिक नदिई श्रम शोषण बढेको आरोपसँगै सुरु भएको नर्सहरूको आन्दोलन विराटनगरमा उत्कर्षमा पुगेको छ। नेपाल नर्सिङ संघ मोरङको नेतृत्वमा कोशी अस्पतालका नर्सहरूले अस्पताल परिसरमै प्लेकार्डसहित प्रदर्शन गर्दै न्यूनतम पारिश्रमिक लागू नहुनु नीतिगत कमजोरी र नियमनको अभावको परिणाम भएको बताएका छन्।

आन्दोलनमा सहभागी नर्सहरूको भनाइमा, नेपालमा श्रमको उचित मूल्य नदिँदा दक्ष नर्सहरू विदेश पलायन हुने क्रम तीव्र बन्दै गएको छ, जसले राष्ट्रिय स्वास्थ्य सेवा प्रणालीमा दीर्घकालीन समस्या निम्त्याइरहेको छ। उनीहरूले तलब मात्र होइन, ‘नाफा प्राथमिक, सेवा गौण’ भएको निजी स्वास्थ्य मोडलमाथि पनि प्रश्न उठाएका छन्।

नेपाल नर्सिङ संघ मोरङकी अध्यक्ष लजिता योन्जनका अनुसार, “निजी अस्पतालहरू नाफा बढाउने नाममा नर्सहरूको श्रममा कटौती गर्छन्। राज्यले न्यूनतम तलब तोके पनि यसको कार्यान्वयनमा सम्झौता गरिएको छ।”

संघको निर्णयअनुसार, नर्सहरूले दैनिक दुई घण्टा कालोपट्टी बाँधेर धर्ना दिने कार्यक्रम सञ्चालन गर्नेछन्। माग सम्बोधन नभए आन्दोलनलाई क्रमशः तीव्र बनाइने चेतावनी संघले दिएको छ।

तपाईको प्रतिक्रिया