काठमाडौं उपत्यकाका विभिन्न स्थानमा लामो समयदेखि सुनको सिक्री लुटपाट गरी आतंक मच्चाउँदै आएको एक संगठित गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको विशेष टोलीले लुटपाटमा संलग्न र चोरीका गरगहना खरिद गर्ने व्यवसायीसहित पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी नायब उपरीक्षक पवन कुमार भट्टराईका अनुसार, पक्राउ परेकाहरूलाई चोरीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट आठ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।

पक्राउ पर्नेहरूमा लुटपाटमा प्रत्यक्ष संलग्न सिन्धुलीको हरिहरगढी गाउँपालिका-६ घर भई हाल भक्तपुर, सूर्यविनायक बस्ने २८ वर्षीय राज लामा र उदयपुरको ताप्ले गाउँपालिका-४ घर भई भक्तपुर बस्ने २० वर्षीय विशाल भन्ने दुर्गा बहादुर मगर रहेका छन्।

प्रहरीका अनुसार राज लामाले मोटरसाइकल चलाउने र पछाडि बस्ने दुर्गा बहादुरले पैदलयात्रीको घाँटीबाट सिक्री तान्ने गरेको अनुसन्धानबाट खुलेको छ।

त्यस्तै, लुटिएको सुन खरिद-बिक्री गर्ने कार्यमा संलग्न तीन जना व्यवसायी पनि पक्राउ परेका छन्।

जसमा रामेछापको लिखु तामाकोसी गाउँपालिका-६ घर भई भक्तपुर, सल्लाघारीमा श्री लक्ष्मी ज्वेलर्स सञ्चालन गर्ने ३२ वर्षीय दिल बहादुर वि.क., बागलुङको गल्कोट नगरपालिका-२ घर भई हाल काठमाडौंको बुढानीलकण्ठमा बस्ने र बागबजारमा बाग्लुङ कालिका ज्वेलर्स सञ्चालन गर्ने ४० वर्षीय गोविन्द सुनार, र कैलालीको लम्कीचुहा नगरपालिका-७ घर भई काठमाडौं महानगरपालिका-२२ मा मनु जेम्स एण्ड ज्वेलर्स सञ्चालक सन्तोष सुनारका छोरा २२ वर्षीय दिपेस रसाईली रहेका छन्।

प्रहरीका अनुसार यो गिरोहले उपत्यकाका विभिन्न स्थानमा लुटपाट मच्चाएको थियो।

उनीहरूले गत असोज ८ गते ललितपुरको नख्खुडोलबाट डेढ तोला, असोज २३ गते नागार्जुनको सिङ्गल ट्रीबाट करिब डेढ तोला, असोज २६ गते ललितपुरको बुद्धचोकबाट तीन तोला, कार्तिक १ गते नागार्जुनको राधाकृष्ण मन्दिर र रामकोट टेम्पो पार्क नजिकबाट क्रमशः एक तोला र सवा तोला, सोही दिन थापाचोकबाट सामसुङ मोबाइल र झोला तथा कार्तिक २ गते तार्केश्वरको बालाजुबाट दुई तोलाको सिक्री लुटेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

प्रहरीले अभियुक्तहरूको साथबाट ठूलो परिमाणमा सुन, नगद, मोबाइल, मोटरसाइकल र अन्य सामग्री बरामद गरेको छ। गोविन्द सुनारको कपनस्थित बाग्लुङ कालिका ज्वेलर्स बाट ९५ लाल, १ तोला ६४ लाल र ८३ लालका सुनका ढिक्का, १ तोला ५८ लाल बराबरका साना-साना पाँचवटा ढिक्का, ३९ लालको अर्को ढिक्का, २ तोला १४ लालको सिक्री गरी जम्मा ७ तोला ४८ लाल सुन र नगद १ लाख ६६ हजार रुपैयाँ बरामद भएको छ।

त्यसैगरी, दिल बहादुर वि.क.को श्री लक्ष्मी ज्वेलर्स बाट सिक्री बिक्री गरी ल्याएको नगद ३ लाख ८८ हजार ५०० रुपैयाँ र दिपेस रसाईलीको कोठाबाट ६४ लाल तौल भएको सुनको ढिक्का बरामद गरिएको छ।

मुख्य अभियुक्त राज लामा र दुर्गा बहादुर मगरको कोठाबाट सामसुङ, रेड्मी, आइफोन लगायतका विभिन्न ब्राण्डका मोबाइल, नेपाल टेलिकम र एनसेलका ६७ थान सिम कार्ड, मोटरसाइकल चोरीमा प्रयोग हुने ‘T’ आकारको औजार, विभिन्न व्यक्तिका सवारी चालक अनुमतिपत्र र लुटपाटमा प्रयोग भएका बा.प्र. ०२-०३७ प ७३१९ र बा.प्र. ०२-०५१ प ६६३० नम्बरका दुईवटा मोटरसाइकल पनि बरामद गरिएको प्रहरीले जनाएको छ।

साथै, उनीहरू कारागारबाट छुटेको अदालती फाइल समेत फेला परेकोले यो गिरोह पहिले पनि यस्तै आपराधिक गतिविधिमा संलग्न रहेको खुलेको छ।

तपाईको प्रतिक्रिया