काठमाडौं। काठमाडौं जिल्लाभित्रका होटेल तथा रेस्टुरेन्टमा अब व्यवस्थित र तोकिएको स्थानबाहेक जथाभाबी हुक्का तथा चुरोट पिउन नपाइने भएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गर्दै सम्पूर्ण होटेल तथा रेस्टुरेन्ट व्यवसायीहरूलाई कानुनबमोजिम धुम्रपान क्षेत्रको व्यवस्थापन गर्न कडा निर्देशन दिएको हो।
होटेल र रेस्टुरेन्टमा अव्यवस्थित रुपमा धुम्रपान गर्दा धुम्रपान नगर्ने मानिसहरूको स्वास्थ्यमा गम्भीर असर परेको र व्यवसायीहरूले कानुनी व्यवस्थाको पालना नगरेको भन्दै सर्वसाधारणबाट गुनासो आएपछि प्रशासनले यस्तो कदम चालेको हो।
सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन, २०६८ अनुसार अबदेखि काठमाडौंका होटेल तथा रेस्टुरेन्टहरूले धुम्रपान गर्न मिल्ने र नमिल्ने स्थलहरू प्रष्ट देखिने गरी छुट्याउनुपर्ने छ। प्रशासनका अनुसार धुम्रपान गर्न मिल्ने गरी तोकिएको स्थान चारैतिरबाट बन्द भएको र त्यसको धुँवा वा असरबाहिर रहेका अन्य ग्राहकहरूलाई नपर्ने प्रकृतिको हुनुपर्ने छ।
जिल्ला प्रशासन कार्यालय तथा तोकिएका अन्य अनुगमन निकायहरूले जुनसुकै बेला होटेल तथा रेस्टुरेन्टहरूको अनुगमन गर्ने जनाइएको छ। अनुगमनका क्रममा कानुनविपरीत कार्य गरेको पाइए सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन, २०६८ को दफा १७ बमोजिम कडा तथा अधिकतम कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ।







