धनकुटा, कात्तिक ११ गते ।
धनकुटाको सहिदभूमि गाउँपालिकालाई व्यापारिक घराना खेतान समूहको खेतान फाउन्डेसनले पाँच अर्ब रुपियाँ बराबरको सहयोग गर्ने भएको छ। आइतबार गाउँपालिका र फाउन्डेसनबीच सहयोग सम्झौता सम्पन्न भएको हो। गाउँपालिकाका अध्यक्ष मनोज राई र फाउन्डेसनका अध्यक्ष निर्मलमान सिंहले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो।

सम्झौता अनुसार, परियोजनाको २० प्रतिशत लागत गाउँपालिकाले र ८० प्रतिशत खेतान फाउन्डेसनले व्यहोर्नेछ। आगामी पाँच वर्षभित्र सम्पन्न हुने यस सहयोगबाट ११ वटा माध्यमिक विद्यालयमा आधुनिक भवन निर्माण, स्वास्थ्य, पूर्वाधार, रोजगार, पर्यटन र ऊर्जाको क्षेत्रमा काम हुने जनाइएको छ।

मुख्यमन्त्री कार्कीले सहिदभूमि प्रदेशकै पछि परेको पालिका भएकाले यो सहयोग सिफारिस गरिएको बताउनुभयो। उहाँका अनुसार कोरोना महामारीका कारण ढिलो सुरु भएको यो कार्यक्रम अब तीव्र गतिमा अघि बढ्नेछ।

यसै क्रममा खेतान फाउन्डेसन र ह्युम्यान प्राक्टिस फाउन्डेसनबीच कोशी प्रदेशका हिमाली तीन र पहाडी आठ जिल्लामा तीन अर्ब रुपियाँको लगानीमा विद्यालय भवन र आइसिटी तालिम सञ्चालन गर्ने अर्को सम्झौता पनि भएको छ। दीर्घकालमा यो लगानी १८ अर्ब रुपियाँसम्म पुग्ने ह्युम्यान प्राक्टिस फाउन्डेसनका निर्देशक शिव रायमाझीले जानकारी दिनुभयो।

तपाईको प्रतिक्रिया