विराटनगर।नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयले बीमा सर्भेयरहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा सर्भेयरहरूको वर्तमान अवस्था, कार्यसम्पादन, व्यावहारिक समस्या, क्षमता विकास तथा पेशागत चुनौतीका विविध विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा नेपाल सर्भेयर एसोसिएसन (NISA), कोशी प्रदेशका अध्यक्ष ललित कुमार कायस्थलगायत प्रतिनिधिहरूले नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयका प्रमुख राजेन्द्र महर्जनलाई स्वागत गर्दै प्रदेशमा कार्यरत सर्भेयरहरूको अवस्था, कार्यसम्पादन तथा पेशागत क्षेत्रमा देखिएका समस्या र चुनौतीबारे जानकारी गराएका थिए।
छलफलका क्रममा सर्भेयरहरूले प्रतिवेदन बीमकसमक्ष पेश गरिसकेपछि पनि विभिन्न कारणले समयमै सर्भेयर शुल्क प्राप्त गर्न नसकेको गुनासो गरेका थिए। साथै, पेशागत क्षमता अभिवृद्धि तथा समयानुकूल ज्ञान र सीप विकासका लागि प्राधिकरणबाट क्षमता विकाससम्बन्धी कार्यक्रम सञ्चालन गर्नसमेत अनुरोध गरेका थिए।
सर्भेयरहरूले शुल्क भुक्तानी, प्रतिवेदन पेश गर्ने समयसीमा, बीमा कम्पनीका कारण हुने प्रक्रियागत ढिलाइ तथा अन्य व्यावहारिक समस्याबारे प्राधिकरणको ध्यानाकर्षण गराएका थिए। यस्ता विषयमा स्पष्टता कायम गर्दै प्रभावकारी सहजीकरण आवश्यक रहेको उनीहरूको भनाइ थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयका प्रमुख राजेन्द्र महर्जनले सर्भेयरहरूलाई समयमै, निष्पक्ष तथा थप व्यावसायिक ढंगबाट आफ्नो पेशागत जिम्मेवारी निर्वाह गर्न आग्रह गर्नुभयो। उहाँले सर्भेयर पेशालाई थप मर्यादित, विश्वसनीय र व्यावसायिक बनाउन महत्वपूर्ण घटना, केस स्टडी तथा सिकाइलाई दस्तावेजीकरण गरी संस्थागत स्मृतिका रूपमा सुरक्षित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
महर्जनले सर्भेयरहरूसँग रहेको ज्ञान, अनुभव तथा उत्कृष्ट अभ्यासलाई आगामी दिनमा संस्थागत रूपमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो। सर्भेयरहरूको क्षमता अभिवृद्धिका लागि आवश्यक कार्यक्रम सञ्चालन तथा सहजीकरणका विषयमा प्राधिकरणले सकारात्मक पहल गर्ने बताउनुभयो।
कार्यक्रममा प्राधिकरणले आफ्ना निर्देशिका, नीति तथा प्रचलित कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाएको छ। आवश्यकताअनुसार स्थलगत निरीक्षण तथा अनुगमन गर्ने र सर्भेयरहरूले उठाएका व्यावहारिक समस्या समाधानका लागि केन्द्रीय कार्यालयसँग आवश्यक समन्वय तथा सहकार्य गरिने पनि बताइएको छ।
कार्यक्रमले सर्भेयरहरूको पेशागत क्षमता अभिवृद्धि गर्नुका साथै बीमा दाबी मूल्याङ्कन तथा सर्भे कार्यलाई थप व्यवस्थित, पारदर्शी, जवाफदेही र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।





