इटहरी / सूर्य उपासना र आत्म–शुद्धीकरणको पर्व छठ मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै भक्तिपूर्वक सम्पन्न भएको छ। सोमबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रतालु महिलाहरूले रातभर पोखरी, नदी तथा तलाउ किनारमा जाग्राम बसेर धर्म–कर्ममा तल्लिन भएका थिए। मंगलबार बिहान उदाउँदो सूर्यलाई दूध, जल, र विविध फलफूल अर्पण गर्दै आराधना गरेपछि यस वर्षको छठ पर्वको समापन गरिएको हो।

चार दिनसम्म चल्ने यो पर्व सूर्य भगवान् र छठी माईको आराधनासँग सम्बन्धित मानिन्छ। पहिलो दिन ‘नहाय–खाय’ बाट सुरु भई दोस्रो दिन ‘खरना’ गरी, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य र अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएर पर्व सम्पन्न गरिन्छ। व्रतालुहरूले उपवास, शुद्धता र अनुशासनका साथ यो पर्व मनाउँछन्।

इटहरीसहित देशभरका विभिन्न नदीघाट र पोखरी किनारमा हजारौँ श्रद्धालुहरूको उपस्थितिमा छठ पर्व उल्लासपूर्वक मनाइएको छ। भक्तजनहरूले सूर्यको उपासना मार्फत परिवारको सुख, समृद्धि र दीर्घायुका लागि प्रार्थना गरेका छन्। परम्परा, भक्ति र आस्थाको संगमका रूपमा मनाइने छठ पर्वले समाजमा एकता, सहअस्तित्व र सांस्कृतिक सौहार्दलाई अझ सबल बनाएको स्थानीयहरूले बताएका छन्।

तपाईको प्रतिक्रिया