पर्यटकीय सिजन सुरु भएपछि इलामका प्रमुख गन्तव्य अन्तु र कन्याममा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल तीव्र भएको छ। गत असोज १८ गतेको बाढीपहिरोपछि केही समय सुनसान भएका यी क्षेत्रहरू अहिले फेरि पर्यटकले भरिन थालेका हुन्।

बाढीपहिरोले क्षति पु–याएका सडक र संरचना मर्मत तथा पुनर्निर्माण भएपछि पर्यटक आगमन बढेको अन्तु पर्यटन व्यवसायी संघका अध्यक्ष रुद्र घिमिरेले जानकारी दिए। उनका अनुसार, जेनजी आन्दोलन र बाढीपहिरोका कारण घटेको भारतीय पर्यटकको संख्या अहिले पुनः बढ्दै गएको छ।

“अन्तुका होटेल, होमस्टे र कटेजहरू भरिएका छन्। अब गाउँका घरहरूमा समेत पर्यटक बस्न थालेका छन्,” अध्यक्ष घिमिरेले भने। उनका अनुसार, अन्तुबाट सूर्योदय अवलोकन गर्न आउने पर्यटकको भीड दैनिक रूपमा बढ्दैछ।

हाल अन्तुमा स्वदेशी र विदेशी गरी दैनिक पाँच हजारभन्दा बढी पर्यटक आउने गरेका छन्। कात्तिक र मंसिर महिना अन्तुमा सूर्योदय हेर्नका लागि उपयुक्त समय मानिन्छ। बिहानको झिसमिसेमा अन्तुडाँडा पर्यटकले खचाखच हुने गरेको छ।

पर्यटकहरू अन्तुमा सूर्योदय हेर्न, अन्तु पोखरीमा डुङ्गा सयर गर्न, जातीय पोशाकमा सजिएर घोडचढी गर्न तथा चियाबारीको दृश्यावलोकन गर्न पुग्ने गरेका छन्।

सूर्योदय नगरपालिकाको अर्को पर्यटकीय स्थल कन्याममा पनि पर्यटकको भीड बढेको होटल व्यवसायी टेकराज गिरीले बताए। उनका अनुसार, कन्याममा चियाबारीमा रमाउन, वनभोज गर्न, घोडचढी गर्ने र चिया अनुसन्धानका लागि नेपाली र भारतीय पर्यटक आउने गरेका छन्।

नगरप्रमुख रणबहादुर राईले बाढीपहिरोपछि पनि कन्याम र अन्तुसहित सूर्योदय नगरपालिका क्षेत्रका पर्यटकीय स्थलहरू पर्यटकका लागि पूर्ण रूपमा सुरक्षित रहेको बताए। उनका अनुसार, बाढीपहिरोले क्षति पुर्‍याएका ८७ सडकहरू सञ्चालनमा ल्याइएका छन्।

“सूर्योदयसहित इलामका पर्यटकीय गन्तव्यहरू सुरक्षित छन् भन्ने सन्देश पर्यटक र व्यवसायीबीच पुर्‍याउन जरुरी छ,” नगरप्रमुख राईले भने। “पर्यटन क्षेत्र पुनः चलायमान बनाउन सबैको भूमिका आवश्यक छ।”

यद्यपि, सरकारले इलामलाई तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गरेकाले तेस्रो मुलुकका पर्यटकको संख्या अझै न्यून छ। अन्तु र कन्यामसँगै सन्दकपुर, माईपोखरी, ढापपोखरी, पानीटार, टुम्लिङ, टङ्लु, सानो पाथीभरा र भन्डीडाँडाजस्ता इलामका अन्य स्थलहरूमा पनि पर्यटक आगमन क्रमशः बढ्दै गएको छ।

तपाईको प्रतिक्रिया