काठमाडौं — गायिका नितु पौडेलको पार्थिव शरीरको शनिबार दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। पोस्टमार्टमपछि परिवारले उनको अन्त्येष्टि गरेको हो। कीर्तिपुरस्थित बर्न अस्पतालमा करिब एक सातादेखि उपचाररत पौडेलको शुक्रबार बिहान साढे ८ बजे निधन भएको थियो।
पौडेलले १ कात्तिकमा स्टुडियोमा पेट्रोल छर्की आत्मदाहको प्रयास गरेकी थिइन्। गम्भीर रूपमा जलेकी उनलाई तत्काल अस्पताल लगिएको थियो। उपचारका क्रममा उनको निधन भएपछि परिवार र संगीत क्षेत्र शोकाकुल बनेका छन्।
उनका दाइ गणेश पौडेलले बहिनीको मृत्यु आत्महत्या नभई हत्या भएको दाबी गर्दै प्रहरीमा कर्तव्यज्यानको उजुरी दिएका छन्। उनका अनुसार नितु र गायक बाबुल गिरीबीच विगत ८–९ वर्षदेखि प्रेम सम्बन्ध थियो। घटनाको बेला कोठामा दुई जनामात्रै रहेको र बहिनीलाई जलाइएको आरोप उनले लगाएका छन्।
यो घटना गायक बाबुल गिरीकै स्टुडियोमा भएको हो। गिरीले भने प्रहरीसमक्ष नितुले आफैंले शरीरमा आगो लगाएको र निभाउने प्रयास गर्दा आफू पनि सामान्य घाइते भएको बयान दिएका छन्।
प्रहरीले भने घटनाबारे थप अनुसन्धान भइरहेको बताएको छ। नितु पौडेलको निधनले नेपाली संगीत क्षेत्र स्तब्ध बनेको छ।





