विराटनगर / मोरङ जिल्ला कारागारमा लागुऔषध मुद्दाका एक बन्दीको उपचारका क्रममा मृत्यु भएको छ । सुन्दरहरैँचा नगरपालिका–७ का ३२ वर्षीय जितप्रसाद सापकोटा (गोपाल) को शुक्रबार राति विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा निधन भएको हो ।
कारागारका जेलर गौरव ढुंगेलका अनुसार सापकोटाको फोक्सोमा पानी जम्ने र कलेजो पूर्णरूपमा नकाम हुने समस्या देखिएको थियो । “स्वास्थ्य अवस्था अत्यन्त गम्भीर भएपछि बचाउन सकिएन,” ढुंगेलले साझा सरोकार डटकम लाई भने ।
सापकोटालाई असोज २७ गते राति शरीर सुन्निने र सास फेर्न गाह्रो हुने समस्या देखिएपछि कोशी अस्पताल लगिएको थियो । अवस्था बिग्रिएपछि कात्तिक ६ गते अस्पतालले उनलाई नोबेल शिक्षण अस्पतालमा रेफर गरेको थियो। त्यहीँ उपचारकै क्रममा शुक्रबार राति करिब ९ बजे उनको मृत्यु भएको हो ।
सापकोटा विरुद्ध लागुऔषध सम्बन्धी मुद्दा दर्ता रहेको र अदालतले गत साउन १२ गते पुर्पक्षका लागि उनलाई थुनामा पठाएको जेल प्रशासनले जनाएको छ । अदालतमा मुद्दा विचाराधीन रहँदै उनको मृत्यु भएको हो ।
शव परिवारको जिम्मामा बुझाइएको जेलर ढुंगेलले जानकारी दिए । उनका अनुसार मोरङ जिल्ला कारागारमा हाल १ हजार १८७ जना कैदीबन्दी रहेका छन्, जसमा १ हजार ७५ पुरुष र ११२ महिला छन् ।
स्वास्थ्य समस्या भएका कैदीबन्दीका लागि नियमित स्वास्थ्य परीक्षण र शीघ्र उपचार सुनिश्चित गर्न आवश्यक कदम चालिने जेल प्रशासनले जनाएको छ ।





