लेखनाथ, असोज ३ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालको संविधान, २०७२ को प्रभावकारी कार्यान्वयनबाटै देशको समुन्नति सम्भव भएको बताउनुभएको छ ।
संविधान दिवसको अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्नुहुँदै मुख्यमन्त्री पाण्डेले सङ्घीयताको प्रभावकारी कार्यान्वयनबाट मात्रै संविधानले परिकल्पना गरेको समावेशी, सन्तुलित र जनमुखी शासन प्रणालीलाई थप संस्थागत गर्न सकिने बताउनुभएको छ ।
संविधानको पूर्ण कार्यान्वयन, लोकतान्त्रिक मूल्य–मान्यताको सुदृढीकरण, सुशासन, विकास र समुन्नतिका लागि सबैको एकता, सहकार्य र साझा प्रयास आवश्यक रहेको उहाँको भनाइ छ ।
सन्देशमा भनिएको छ, “गण्डकी प्रदेश सरकारले लिएको ‘आत्मनिर्भर र समुन्नत प्रदेश ः सुखी प्रदेशवासी’ को सङ्कल्पलाई सार्थक बनाउन सम्पूर्ण प्रदेशवासीको साथ, सहयोग र सहकार्य प्राप्त हुने विश्वास व्यक्त गर्दछु ।”
देशको राजनीतिक, सामाजिक तथा आर्थिक परिवर्तनका लागि विभिन्न कालखण्डमा जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँले लोकतन्त्र, गणतन्त्र, सामाजिक न्याय, समानता र नागरिक अधिकारका लागि भएका विभिन्न आन्दोलनको सम्मान गर्नुभएको छ । उहाँले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न लाग्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ ।
“नेपालको संविधान सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल आधारशिला हो,” सन्देशमा भनिएको छ, “सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप प्रभावकारी बनाउन संविधानले परिकल्पना गरेको सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वय, सहकार्य र सहअस्तित्वको भावना व्यवहारमा अझ सुदृढ हुन आवश्यक छ ।”
प्रदेशका संवैधानिक अधिकारको प्रभावकारी प्रयोग, कानुन कार्यान्वयन तथा वित्तीय सङ्घीयतालाई सबल बनाउन सङ्घ सरकारबाट आवश्यक सहजीकरण र सहयोगको अपेक्षासमेत मुख्यमन्त्री पाण्डेले गर्नुभएको छ ।
संविधान दिवसको अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशले विशेष कार्यक्रम आयोजना गरेको छ । बिहान साढे ८ बजे सहिदचोकमा सहिदहरूको सालिकमा माल्यार्पण गरेपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मूल समारोह आयोजना हुने तय भएको छ ।





