विराटनगर, कात्तिक ५

मोरङको जहदा–४ रामचोकमा सञ्चालनमा रहेको प्रथम जहदा महोत्सवमा बुधबार राति झडप भएपछि स्थानीय प्रशासनले महोत्सव स्थगित गरेको छ। आयोजकहरूबीच मध्यराति करिब १ बजे विवाद भई कुटाकुट हुँदा कटहरी–४ निवासी ३५ वर्षीय अनिलकुमार सहनी गम्भीर घाइते भएका छन्। कोशी अस्पताल विराटनगरका अनुसार उनको टाउकोमा गहिरो चोट लागेको छ।

सुरक्षा निकायले यसअघि असोज २६ मा लेटाङ महोत्सवमा भएको झगडा, जुवा र मदिरा बिक्रीका कारण जहदामा मेला नगर्न सिफारिस गरेको थियो। तर जहदा गाउँपालिका अध्यक्ष जितेन्द्रप्रसाद साह र प्रमुख प्रशासकीय अधिकृतको पत्रको आधारमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले मेला सञ्चालनको स्वीकृति दिएका थिए।

जिल्ला अधिकारी यादवले आफूले कुनै दबावमा अनुमति नदिएको र मेलामा सहभागीहरूको स्वास्थ्य बिमा गरिएकाले अनुमति दिएको बताए।

प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार मेला सकिएपछि आयोजकहरूले मदिरा सेवन गरेका थिए र त्यसक्रममा विवाद हुँदै झडप भएको हो। प्रशासनले बुधबारदेखि मेला स्थगित गरेको छ।

तपाईको प्रतिक्रिया