दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बालविवाह रोक्न सरकार, परिवार, समुदाय र सबै सरोकारवाला मिलेर काम गर्नुपर्ने बताएका छन् । बालविवाह, कम उमेरमा विवाह तथा जबर्जस्ती विवाह अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै उनले बालविवाहमुक्त समाज बनाउन सबैलाई एकजुट हुन आग्रह गरेका छन् ।

मुख्यमन्त्री आचार्यले बालविवाहले बालबालिकाको शिक्षा, स्वास्थ्य, स्वतन्त्रता र भविष्यमा असर पार्ने बताएका छन् । बालविवाह बालअधिकारको उल्लङ्घनसमेत भएकाले बालबालिकालाई सुरक्षित बाल्यकाल, राम्रो शिक्षा र सम्मानपूर्वक बाँच्ने वातावरण दिनु सबैको जिम्मेवारी भएको उनको भनाइ छ ।

उनले बालविवाह अन्त्य गर्न कानुन बनाएर मात्र नपुग्ने भन्दै मानिसको सोच र व्यवहारमा पनि परिवर्तन आउनुपर्ने बताएका छन् । यसका लागि सरकार, परिवार, विद्यालय, समुदाय, नागरिक समाज र सामाजिक संस्थाले मिलेर काम गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

बालविवाह रोक्न कानुनको प्रभावकारी कार्यान्वयनसँगै जनचेतना बढाउनुपर्ने र यस्तो विवाहलाई समाजले स्वीकार नगर्ने वातावरण बनाउनुपर्ने उनले बताएका छन् ।

लुम्बिनी प्रदेश सरकारले बालविवाहमुक्त प्रदेश बनाउने अभियानलाई प्राथमिकतामा राख्दै आएको मुख्यमन्त्रीको सन्देशमा उल्लेख छ । प्रदेश सरकारले वार्षिक नीति, कार्यक्रम र बजेटमार्फत बालविवाह रोकथामका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

चालु आर्थिक वर्षमा प्रदेशका १२ जिल्लाका १०९ वटै स्थानीय तहमा बालविवाह न्यूनीकरण तथा अन्त्यका कार्यक्रम सञ्चालन भइरहेका छन् । स्थानीय तह, समुदाय र विभिन्न संस्थासँग मिलेर जनचेतना बढाउने, बालअधिकारको संरक्षण गर्ने, किशोरकिशोरीलाई सक्षम बनाउने र बालविवाह रोक्ने कामलाई थप प्रभावकारी बनाइने सन्देशमा उल्लेख छ ।

बालविवाहमुक्त प्रदेश बनाउन सरकारी प्रयास मात्र पर्याप्त नहुने मुख्यमन्त्री आचार्यको भनाइ छ । यसका लागि हरेक परिवार, समुदाय र संस्थाले बालबालिकाको अधिकार र भविष्यलाई ध्यानमा राखेर सामाजिक परिवर्तनको अभियानमा सहभागी हुनुपर्ने उनले बताएका छन् ।

नोभेम्बर २७ अर्थात् बालविवाह, कम उमेरमा विवाह तथा जबर्जस्ती विवाह अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवसका अवसरमा मुख्यमन्त्री आचार्यले बालविवाह रोक्ने र बालबालिकाको अधिकार, सपना तथा भविष्य सुरक्षित गर्ने अभियानमा सबैलाई सहभागी हुन आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया