- भोजराज घिमिरे

विराटनगर । महिलालाई सीपमूलक तालिम प्रदान गरी आत्मनिर्भर बनाउने उद्देश्यले विराटनगरमा १५ महिलाका लागि कपडाको झोला बनाउने तालिम सुरु गरिएको छ ।
विराटनगर महानगरपालिका वडा नम्बर ८ को सहयोग तथा हाम्रो प्रयास संस्थाको आयोजनामा बुधबारदेखि तीनदिने तालिम सुरु भएको हो । मंसिर १० देखि १२ गतेसम्म सञ्चालन हुने तालिम विराटनगर–८ स्थित बाल पुस्तकालयको सभाहल मा भइरहेको छ ।
हाम्रो प्रयास संस्थाका सल्लाहकार तथा वरिष्ठ अधिवक्ता रूपेश कोइरालाको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको थियो । कार्यक्रममा संस्थाकी अध्यक्ष सवित्री ढकाल, संस्थाका पदाधिकारी तथा तालिमका सहभागीहरूको उपस्थिति थियो ।
तालिममा प्रशिक्षक सरला घिमिरे भट्टराईले सहभागीहरूलाई कपडाबाट विभिन्न प्रकारका झोला बनाउने सीप सिकाइरहेकी छन् । कार्यक्रमको संयोजन प्रमिला कर्णले गरेकी छन् ।।तालिम सफल बनाउन संस्थाकी सचिव बाला पोखरेल, कोषाध्यक्ष ज्ञानु राउत तथा सदस्य सबिना खतिवडाले सहकार्य गरेका छन् ।
तालिमबाट महिलाहरूले व्यावहारिक सीप हासिल गरी स्वरोजगार बन्न तथा आयआर्जनका अवसर सिर्जना गर्न सहयोग पुग्ने आयोजकले अपेक्षा गरेको छ । साथै, कपडाका झोलाको उत्पादन र प्रयोगले प्लास्टिकका झोलाको विकल्प प्रवर्द्धन गर्नसमेत सहयोग पुग्ने विश्वास गरिएको छ ।।।हाम्रो प्रयास संस्थाले सीपमूलक तथा आत्मनिर्भर बनाउने कार्यक्रमसँगै विपद् प्रभावितलाई सहयोग, रक्तदान, जाडो मौसममा असहाय तथा विपन्नलाई न्यानो कपडा वितरण, उद्घोषण तालिम, जनचेतनामूलक कार्यक्रम तथा ज्येष्ठ नागरिक सम्मानलगायत सामाजिक गतिविधि सञ्चालन गर्दै आएको छ ।
संस्थाकी अध्यक्ष सवित्री ढकालले संस्थाले सञ्चालन गर्दै आएका यस्ता कार्यक्रम तथा तालिमले समुदायमा सकारात्मक प्रभाव पारेको बताइन् । सीपमूलक तालिममार्फत महिलालाई आत्मनिर्भर बनाउने र सामाजिक सेवाका विभिन्न गतिविधिमार्फत समुदायमा सहयोग तथा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले संस्था क्रियाशील रहेको उनले बताइन् ।

तपाईको प्रतिक्रिया