गोरखा। जिल्लाको धार्चेका ६०० घरधुरीमा झण्डै डेढ महिनापछि विद्युत् र सञ्चार सेवा सुरु भएको छ। धार्चे गाउँपालिका १ र ३ करिब ६०० घरधुरीमा सोमबारदेखि विद्युत् सेवा सुरु भएको हो। बुढीगण्डकीमा आएको बाढीका कारण विद्युत् र सञ्चार सेवा अवरुद्ध भएको थियो।

नेपाल टेलिकमको टावरमा विद्युत् सेवा जडान भएपछि सञ्चार सेवा पनि सुचारु भएको त्यहाँका वडाध्यक्ष सरोज गुरुङले जानकारी दिए। बाढीले चुमनुब्री गाउँपालिका ३ स्थित सिर्दिवास उहिया लघु जलविद्युत् आयोजनामा क्षति पुर्‍याएपछि चुमनुब्री गाउँपालिका ३ र धार्चेको उहिया क्षेत्र विगत डेढ महिनादेखि विद्युतविहीन बनेको थियो।

उहियास्थित नेपाल टेलिकमको टावरमा विद्युत् विच्छेद हुँदा सेवा अवरुद्ध भएको थियो। विद्युत् जडान भएसँगै वरपरका गाउँबस्तीमा सञ्चार सम्पर्क सेवा सुरु भएपछि स्थानीयबासी खुसी भएका छन्। सोमबार मात्र उहियामा विद्युत् सेवा सञ्चालनमा आएको धार्चे गाउँपालिका २ का वडाध्यक्ष सरोज गुरुङले बताए।

उत्तरी गोरखाको गाउँबस्तीमा विद्युत् सेवा दिँदै आएको कादुरी नामक संस्थाको पहलमा उहियामा बिजुली बलेको उनले उल्लेख गरे। उनका अनुसार विद्युत् सेवा सुचारु भएपछि सञ्चार सेवा पनि सुरु भएको हो।

‘उहियाको टावरबाट उहिया, माछाखोला, खोर्ला, खोर्लावेशी, दुङ्ला, रुन्चेत, उम्चेत र हुल्चुकका गाउँबस्तीमा सञ्चार सेवा सुचारु भएको छ,’ गुरुङले भने, ‘त्यहाँ डेढ महिनासम्म बिजुली नबल्दा टावर चलेन। वरपरका सबै गाउँबस्तीमा बिजुली त जसोतसो बल्यो तर फोन सम्पर्क हुन सकेन।’

धार्चे गाउँपालिकाको वडा नं १, २ र ३ मा गत असोज २५ गते बाढी गएदेखि सञ्चार सेवा ठप्प बनेकोमा सोमबारदेखि मात्र सञ्चालनमा आएको वडा नं २ का अध्यक्ष सरोज गुरुङले बताए। गाउँमा सञ्चार सेवा ठप्प बन्दा वडाका काम कारबाही र स्थानीयको जनजीवनसमेत प्रभावित बनेको उनको भनाइ छ।

धार्चेको वडा नं १, २ र ३ का गाउँबस्तीलाई बाढीले आवतजावतसँगै सञ्चारबाट पनि वञ्चित गराएको थियो। वडा नं १ हुल्चुकको करिब २५० घरधुरी र वडा नं ३ उहियाको ३३२ घरधुरी बाढी आएको दिनदेखि अन्धकारमा जीवन गुजारा गरिरहेका थिए।

स्थानीयले विद्यालय तथा स्वास्थ्य चौकीको सोलारबाट जसोतसो फोन चार्ज गरेपनि फोन सम्पर्क भने सुरु हुन सकेको थिएन। फोन टावर नहुँदा गाउँलेहरु फोन सम्पर्कका लागि माथि डाँडामा धाउनुपर्ने बाध्यता थियो।

उहियाको टावरमा विद्युत् नहुँदा त्यसको प्रत्यक्ष असर वरपरका माछाखोला, खोर्ला, खोर्लावेशी, उहिया, दुङ्ला, रुन्चेत, उम्चेत र हुल्चुकको गाउँबस्तीमा परेको थियो।

तपाईको प्रतिक्रिया