सर्लाही, १ मंसिर । नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति वीरेन्द्र सिंहले रास्वपा सांसद डा. अमरेशकुमार सिंहलाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत कडा टिप्पणी गरेका छन् ।

सिंहले फेसबुकमा लेख्दै पद र शक्तिको दुरुपयोग गरी अरूको घरपरिवार बिगारेर आफ्नो घर बसाउने तथा पटक–पटक उत्तेजित र उच्छृङ्खल अभिव्यक्ति दिएर देशलाई अशान्त बनाउने प्रयास भइरहेको आरोप लगाएका छन् ।

सिंहले अमरेशको बिना कुनै स्पष्ट आयस्रोत काठमाडौंलगायत विभिन्न स्थानमा अर्बौंका महल, जग्गा र सम्पत्ति आर्जन गरेका व्यक्तिहरूले अहिले मधेशमा अशान्ति मच्चाउन मेची–महाकाली पदयात्राको नाममा नौटंकी गरिरहेको टिप्पणी गरेका छन् । यद्यपि सिंहले आफ्नो फेसबुक पोस्टमा अमरेशकुमार सिंहको नाम प्रत्यक्ष उल्लेख गरेका छैनन् ।

अमरेशकुमारको मेची–महाकाली पदयात्रा र त्यससँग जोडिएका राजनीतिक गतिविधिबारे कांग्रेसका नेताहरूबाट निरन्तर आलोचना हुँदै आएको छ।

तपाईको प्रतिक्रिया