काठमाडौं। अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा यूपीएसको कार्गो विमान र कोपा एयरलाइन्सको यात्रुवाहक विमान एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्।

स्थानीय सञ्चार माध्यमका अनुसार शनिबार राति करिब ९ः१५ बजे अवतरण गर्दै गरेको र उडान भर्ने तयारीमा रहेको विमान विमानस्थलका दुई ट्याक्सीवे जोडिने स्थानमा ठोक्किएका थिए।

घटनामा घाइते भएका दुई जनालाई घटनास्थलमै उपचार गरिएको र अस्पताल भर्ना गर्नुपर्ने अवस्था नरहेको मियामी-डेड अग्नि उद्धार विभागले जनाएको छ।

कोपा एयरलाइन्सको विमान पानामा सिटीबाट मियामी आइपुगेको थियो। यूपीएसको कार्गो विमान मियामीबाट कोलम्बियाको राजधानी बोगोटाका लागि उड्ने तयारीमा थियो। घटनाबारे अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए)ले अनुसन्धान सुरु गरेको छ।

तपाईको प्रतिक्रिया