हेटौंडा / मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१, चौकीटोलबाट पेस्तोलसहित दुई जना पक्राउ परेका छन्।
सशस्त्र प्रहरी बल, नेपाल नं. १४ गण मकवानपुर र एपीएफ इन्टेलिजेन्स ब्युरोबाट खटिएको संयुक्त टोलीले शनिबार दिउँसो करिब १२ः१५ बजे बा.प्र.०३–००१ ह ११८१ नम्बरको अटो जाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
अटो जाँचका क्रममा भाग्न खोजेपछि इन्टेलिजेन्स ब्युरोको टोलीले एक राउण्ड हवाई फायर गरेको सशस्त्र प्रहरीले जनाएको छ।प्रहरी का अनुसार अटोबाट ७.६५ एमएम क्यालिबरको एक थान सेमी अटोमेटिक पेस्तोल, एक थान म्यागजिन र पिँदीमा चोट लागेको ७.६५ एमएमको एक राउण्ड गोली बरामद भएको छ।पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका–६, नयाँबस्तीका २७ वर्षीय सुनबहादुर तामाङ र २२ वर्षीय विश्वराज तामाङ रहेका छन्। नियन्त्रणमा लिइएका दुवै व्यक्ति, बरामद हतियार तथा अटोलाई आवश्यक अनुसन्धानका लागि सशस्त्र प्रहरी गणमा राखिएको जनाइएको छ।
पेस्तोलसहित दुई जना सशस्त्र प्रहरीको नियन्त्रणमा





