- भोजराज घिमिरे

विराटनगर । छठ पर्वको धार्मिक तथा सांस्कृतिक महत्वलाई आत्मसात् गर्दै मोरङको कटहरी गाउँपालिका–१, जमटोकीमा ९० जना विपन्न व्रतालु महिलालाई साडी वितरण गरिएको छ।
श्री हरि सत्संग समिति नेपालको आयोजनामा छठ पर्वको अवसर पारेर व्रतालु महिलालाई सम्मानस्वरूप साडी वितरण गरिएको हो। समाजसेवी एवं धार्मिक व्यक्तित्व डा. शिवशंकर साहले उपलब्ध गराउनुभएको साडी महिलाहरूलाई वितरण गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा ग्राम संगठनका अध्यक्ष विद्यानन्द माझीले उद्घोषण गर्दै धार्मिक आस्था र सामाजिक सेवाबीच गहिरो सम्बन्ध रहेको बताए। उनले हिन्दु धर्म, संस्कृति र परम्पराको संरक्षण, संवर्द्धन तथा प्रचारप्रसारमा सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए।
हिन्दु धर्मको मौलिकता जोगाउँदै नयाँ पुस्तामा धार्मिक तथा सांस्कृतिक चेतना फैलाउन आवश्यक रहेको बताउँदै माझीले धर्म र संस्कृतिको संरक्षणका लागि सामूहिक प्रयास हुनुपर्ने धारणा राखे। । उनले हिन्दु धर्मबाट अन्य धर्ममा गएका व्यक्तिहरूलाई समेत आफ्नो धर्म, संस्कृति र परम्पराबारे जानकारी गराउँदै धार्मिक पहिचानको संरक्षणमा लाग्नुपर्ने बताए।
कार्यक्रममा उपस्थित अतिथिहरूले छठ पर्वले धार्मिक आस्थासँगै सामाजिक एकता, सद्भाव, सहयोग र सहअस्तित्वको सन्देश दिने बताए। आर्थिक अवस्था कमजोर भएका महिलालाई पर्वका अवसरमा सहयोग गर्नु मानव सेवा र सामाजिक उत्तरदायित्वको महत्वपूर्ण उदाहरण भएको उनीहरूको भनाइ थियो।
साडी प्राप्त गरेपछि व्रतालु महिलाहरूले खुसी व्यक्त गर्दै सहयोगदाता डा. शिवशंकर साह र आयोजक संस्थाप्रति आभार प्रकट गरेका थिए।
कार्यक्रममा श्री हरि सत्संग समिति नेपालका अध्यक्ष भिखम चन्द सरल, ग्राम संगठन अध्यक्ष विद्यानन्द माझी, नगर संगठन अध्यक्ष धनश्याम कावरा, सम्भाग अध्यक्ष महेश स्वर्णकार, पत्रकार राजेश शर्मालगायत धार्मिक तथा सामाजिक व्यक्तित्वहरूको उपस्थिति थियो।
छठ पर्वको अवसरमा गरिएको यस सहयोगले विपन्न महिलालाई सम्मानपूर्वक पर्व मनाउन सहयोग पुग्नुका साथै धार्मिक आस्था र सामाजिक सेवाबीचको सम्बन्धलाई थप बलियो बनाएको छ।

तपाईको प्रतिक्रिया