विराटनगर / बडादसैं–२०८२ को अवसरमा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सुस्वास्थ्य, समृद्धि र दीर्घजीवनको कामनासहित शुभकामना व्यक्त गरेका छन् ।
फूलपातीको पावन दिन स्मरणीय ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको बताउँदै मेयर कोइरालाले यो पर्वले शक्ति, विजय, पारिवारिक एकता तथा सामाजिक सद्भावको सन्देश बोकेको उल्लेख गरेका छन् । ‘दसैंको अवसरमा टीका, जमरा र आशीर्वाद साटासाट गर्ने परम्पराले पारिवारिक नाता मात्र होइन, सामाजिक तानाबाना पनि मजबुत बनाउने गर्छ,’ शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।
उनले फूलपातीलाई देवी दुर्गाको स्वागतस्वरूप घरमा भित्र्याइने परम्पराको रूपमा स्मरण गर्दै यसलाई संस्कृति र आस्थाको प्रतीक बताएका छन् ।
हालै भदौ २३ र २४ गते देशभरि भएको जेनजी आन्दोलनले जन–जीवन प्रभावित पारेको उल्लेख गर्दै कोइरालाले दसैं यसपटक केही पीडा र चुनौतीका साथ आएको स्वीकार गरेका छन् । उनले आन्दोलनका क्रममा सामाजिक, राजनीतिक तथा भौतिक पक्षमा पर्न गएको असरप्रति चिन्ता व्यक्त गर्दै विराटनगर पनि त्यसबाट अछुतो नरहेको बताएका छन् ।
‘दैनिक श्रमिक, व्यवसायी, विद्यार्थी लगायत सर्वसाधारण नेपालीले यसबाट प्रत्यक्ष प्रभाव भोग्नु प¥यो,’ उनले भने, ‘यस्ता कठिन घडीमा सामाजिक एकता, मेलमिलाप र समझदारी अति आवश्यक छ ।’
आन्दोलन र असन्तोषलाई जनताको आवाजको रूपमा स्वीकार गर्दै कोइरालाले त्यसका समाधानका लागि संवाद र समन्वयको खाँचो औंल्याएका छन् । उनले जन–धनको क्षति नहोओस् भन्ने आकांक्षा व्यक्त गर्दै लोकतान्त्रिक अभ्यासहरू जिम्मेवारीका साथ अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।
शुभकामना सन्देशको अन्त्यमा कोइरालाले दसैंले सकारात्मक सोच, धैर्यता, आपसी माया र विकासप्रतिको प्रतिबद्धता थप बलियो बनाओस् भन्ने कामना गरेका छन् । कठिनाइको समयमा पनि सहिष्णुता र सहकार्यबाट मात्रै समृद्धिको लक्ष्य हासिल गर्न सकिने उल्लेख गर्दै उनले सबैमा आशा र उज्यालोको किरण फैलियोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन् ।
‘शान्ति, स्थायित्व र सुशासन कायम होस्,’ मेयर कोइरालाको शुभकामना सन्देशमा उल्लेख छ, ‘बडादसैं तथा फूलपातीको पावन अवसरमा सम्पूर्ण महानगरवासीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।’