तेह्रथुम : स्वर्गीय सुब्बा नन्दप्रसाद तुम्खेवाको जीवन, व्यक्तित्व र सामाजिक, शैक्षिक, राजनीतिक तथा साहित्यिक योगदान समेटिएको संस्मरण ग्रन्थ विमोचन गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व उपकुलपति एवं प्राज्ञ बैरागी काइँलाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा उहाँले ग्रन्थको विमोचन गर्नुभएको हो ।
कार्यक्रममा नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, मदन पुरस्कार विजेता साहित्यकारद्वय कृष्ण धरावासी र भगिराज इङ्नाम, पूर्व सहरी विकासमन्त्री सीता गुरुङ, सांसद सन्तोष सुब्बा, पूर्व स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, पूर्व राज्यमन्त्री डम्बर सिंह सम्हाम्फे, निवर्तमान प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ तथा पूर्व सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो ।
कार्यक्रममा वक्ताहरूले स्वर्गीय तुम्खेवाको जीवनयात्रा, विचार, सामाजिक सक्रियता र विभिन्न क्षेत्रमा र्पुयाएको योगदानको चर्चा गर्दै उहाँको व्यक्तित्वलाई भावी पुस्तासम्म परिचित गराउन संस्मरण ग्रन्थ महत्त्वपूर्ण दस्तावेज बन्ने धारणा व्यक्त गरे। उहाँले आफ्नो जीवनकालमा शिक्षा, समाजसेवा, राजनीति तथा साहित्यका क्षेत्रमा पुर्याउनुभएको योगदानको स्मरण गर्दै सामाजिक रूपान्तरण र समाजप्रतिको समर्पणलाई पुस्तकमार्फत अभिलेखीकरण गर्नु सराहनीय कार्य भएको उनीहरूको भनाइ थियो ।
स्वर्गीय तुम्खेवाको जीवनयात्रा, अनुभव, विचार तथा विभिन्न क्षेत्रमा पुर्याउनुभएको योगदान समेटेर तयार पारिएको उक्त ग्रन्थको सम्पादन सञ्चारिका समूहकी पूर्व अध्यक्ष विमला तुम्खेवाले गर्नुभएको हो । पुस्तक प्रकाशनको जिम्मेवारी उहाँका छोरा भुवनजित लिम्बूले लिनुभएको हो । विमोचित ग्रन्थमाथि समाजशास्त्री डा। डम्बर चेम्जोङले विश्लेषणात्मक टिप्पणी प्रस्तुत गर्नुभएको थियो । उहाँले पुस्तकमा समेटिएका विषयवस्तु र स्वर्गीय तुम्खेवाको सामाजिक, बौद्धिक तथा बहुआयामिक व्यक्तित्वबारे चर्चा गर्नुभएको थियो ।
प्रमुख अतिथि प्राज्ञ बैरागी काइँलाले संस्मरण ग्रन्थले स्वर्गीय तुम्खेवाको जीवन र योगदानलाई अभिलेखीकरण गर्दै भावी पुस्ताका लागि अध्ययन तथा प्रेरणाको स्रोतका रूपमा भूमिका खेल्ने बताउनुभएको थियो । छथर तेह्रथुम समाजका अध्यक्ष कृष्णप्रसाद दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन यासेली योङ्गहाङले गर्नुभएको थियो। सहभागी अतिथि तथा पाहुनालाई स्वर्गीय तुम्खेवाका नातिनी ज्वाइँ टङ्क फोम्बोले स्वागत गर्नुभएको थियो । कार्यक्रममा उपस्थित महानुभावहरूलाई छथर तेह्रथुम समाजका सहसचिव एम। बी। सावा र नातिनी ज्वाइँ प्रकाश राईले संस्मरण ग्रन्थ वितरण गर्नुभएको थियो ।
कार्यक्रममा स्वर्गीय तुम्खेवाका छोरी कृष्णा सुब्बा, नातिनीहरू प्रतीक्षा सुब्बा र प्रतिभा सुब्बा तथा नातिनी बुहारीहरू गंगा थेवे, युशा शाक्य र सृजना ताम्लिङले लिम्बू समुदायको सांस्कृतिक पहिचान र आतिथ्यको प्रतीक सिलाम साक्मा लगाएर अतिथिहरूलाई स्वागत गर्नुभएको थियो । त्यस्तै, उहाँका नातिहरू प्रवेश, प्रदेव र प्रतीक सुब्बाले कार्यक्रम व्यवस्थापनमा सहयोग गर्दै कार्यक्रमलाई व्यवस्थित रूपमा सम्पन्न गर्न भूमिका निर्वाह गर्नुभएको थियो ।
स्वर्गीय सुब्बा नन्दप्रसाद तुम्खेवाको जीवन, विचार र योगदानलाई समेटेर प्रकाशित गरिएको यस संस्मरण ग्रन्थले उहाँको सामाजिक तथा बौद्धिक विरासतलाई नयाँ पुस्तासम्म पुर्याउनुका साथै उहाँका अनुभव र योगदानको अध्ययन तथा स्मरणका लागि महत्वपूर्ण आधार तयार गर्ने अपेक्षा गरिएको छ ।





