तेह्रथुम : कुनै समय तेह्रथुमका गाउँबस्तीमा मकै र कोदोसँगै बारीभरि कालो भटमास लहलहाउँथ्यो। घरायसी उपभोगका लागि लगाइने स्थानीय जातको भटमास ग्रामीण भान्साको नियमित परिकार थियो। भुटेर खाने, अचार बनाउनेदेखि तरकारीका रूपमा प्रयोग गरिने यसको खेती अहिले भने क्रमशः हराउँदै गएको छ। पुस्तौँदेखि खेती हुँदै आएको कालो भटमासको बीउसमेत पाउन मुस्किल हुन थालेको छ।

म्याङलुङ नगरपालिका–२ की देवीमाया राईका अनुसार पहिले गाउँका अधिकांश किसानले घरमा खान पुग्ने गरी भटमास खेती गर्थे। उत्पादन भएको बीउ अर्को वर्षका लागि जोगाएर राख्ने चलन थियो। तर पछिल्लो समय किसानले खेती गर्न छाडेपछि गाउँबस्तीबाटै कालो भटमास हराउँदै गएको उनले बताइन्।

छथर गाउँपालिका–२ की लिलामाया लिम्बूको अनुभव पनि उस्तै छ। कुनै समय गाउँमै पर्याप्त उत्पादन हुने भटमास अहिले खोज्दा पनि पाउन कठिन हुन थालेको उनको भनाइ छ।

किसान नगदेबाली तथा बजारमा राम्रो मूल्य पाउने अन्य खेतीतर्फ आकर्षित हुन थालेपछि परम्परागत बाली ओझेलमा परेको हो। आधुनिक खेती प्रणालीको विस्तार, स्थानीय बीउ संरक्षणमा घट्दो चासो र रासायनिक मलको बढ्दो प्रयोगले पनि कालो भटमासको खेती प्रभावित भएको कृषि क्षेत्रका जानकार बताउँछन्।

कृषि ज्ञान केन्द्र तेह्रथुमका प्रमुख विशाल राईका अनुसार अन्नबालीमा रासायनिक मलको प्रयोग बढ्दै जाँदा परम्परागत कालो भटमासको उत्पादन घटेको छ। स्थानीय जातका बालीको संरक्षण र खेती विस्तारमा पर्याप्त ध्यान पुग्न नसक्दा यस्ता बाली क्रमशः हराउँदै गएको उनले बताए।

स्थानीय कालो भटमास कृषि उपजमा मात्र सीमित छैन। यो पहाडी समुदायको परम्परागत खानपान, खेती प्रणाली र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको कृषि ज्ञानसँग पनि जोडिएको छ। प्रोटिनको महत्त्वपूर्ण स्रोत मानिने भटमासलाई भुटेर, अचार बनाएर तथा विभिन्न परिकारमा प्रयोग गर्ने गरिन्छ।

स्थानीय खाद्य परिकारप्रति पछिल्लो समय बढ्दै गएको आकर्षणलाई उपयोग गर्न सके कालो भटमासको खेती पुनः विस्तार गर्न सकिने सम्भावना छ। त्यसका लागि किसानसँग रहेका पुराना बीउ संकलन र सुरक्षित भण्डारण गर्नुपर्ने आवश्यकता देखिएको छ।

स्थानीय जातको बीउ उत्पादन गर्ने किसानलाई प्रोत्साहन, खेती विस्तारका लागि प्राविधिक सहयोग र बजारको सम्भावना खोज्न सके यो परम्परागत बाली जोगाउन सकिने कृषि क्षेत्रका जानकारको सुझाव छ। स्थानीय तह र कृषि निकायले किसानसँग सहकार्य गरेर संरक्षणका कार्यक्रम अघि बढाउन सके गाउँबारीबाट हराउँदै गएको कालो भटमासलाई पुनः खेतीमा फर्काउन सकिनेछ।

तपाईको प्रतिक्रिया