रौतहट । तिहार र छठ पर्वलाई लक्षित गर्दै रौतहट प्रहरीले जिल्लाभर सुरक्षा व्यवस्था कडा बनाउने भएको छ । चाडपर्वका बेला हुन सक्ने चोरी, लुटपाट, ठगी, पाकेटमारी तथा सवारी दुर्घटना नियन्त्रण गर्न प्रहरीले ८९७ जना जनशक्ति परिचालन गर्ने गरी विशेष सुरक्षा योजना तयार पारेको छ ।

चाडपर्वको समयमा सर्वसाधारणको आवागमन बढ्ने, बजारमा भीडभाड हुने र आर्थिक कारोबार तीव्र हुने भएकाले सम्भावित आपराधिक गतिविधि नियन्त्रण गर्न सुरक्षा व्यवस्था थप मजबुत बनाउन लागिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । सुरक्षा योजनामा ट्राफिक प्रहरी समेत परिचालन हुनेछन् ।

प्रहरीका अनुसार जिल्लाका विभिन्न संवेदनशील क्षेत्रमा नियमित गस्ती, आकस्मिक चेकजाँच, सादा पोशाकमा प्रहरी परिचालन तथा प्रविधिको प्रयोगमार्फत निगरानी बढाइनेछ । सडक, बजार र सीमावर्ती क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर सुरक्षा व्यवस्था मिलाइने भएको छ ।

३४ स्थानमा प्रहरी पिकेट, २४ घण्टा निगरानी
विशेष सुरक्षा योजनाअन्तर्गत जिल्लाका ३४ स्थानमा प्रहरी पिकेट स्थापना गरिनेछ । त्यस्तै, २० स्थानमा पैदल गस्ती र १४ वटा मोबाइल गस्ती परिचालन गरिने प्रहरीले जनाएको छ । संवेदनशील तथा बढी भीडभाड हुने क्षेत्रमा सीसीटीभी क्यामेरा र ड्रोन प्रविधिको प्रयोग गरी चौबीसै घण्टा निगरानी गरिनेछ ।

मुख्य बजार, मेला, जात्रा, धार्मिक स्थल तथा सार्वजनिक जमघट हुने स्थानमा प्रहरीको उपस्थिति थप बाक्लो बनाइनेछ । सम्भावित अपराध तथा दुर्घटनाको जोखिम रहेका क्षेत्र पहिचान गरी नियमित गस्तीका साथै आकस्मिक सुरक्षा जाँच समेत सञ्चालन गरिनेछ ।

बैंक, वित्तीय संस्था र सुनचाँदी पसल विशेष निगरानीमा
चाडपर्वका बेला आर्थिक कारोबार बढ्ने भएकाले बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसल र नगद कारोबार हुने स्थानलाई विशेष सुरक्षा निगरानीमा राखिने भएको छ । चोरी, पाकेटमारी, ठगी तथा लुटपाट नियन्त्रण गर्न सादा पोशाकमा समेत प्रहरी परिचालन गरिनेछ ।

त्यस्ता आपराधिक गतिविधिमा संलग्न हुन सक्ने शंकास्पद व्यक्तिमाथि निगरानी बढाउनुका साथै विभिन्न मुद्दामा अदालतबाट फैसला भई फरार रहेका प्रतिवादी पक्राउ गर्ने अभियानलाई पनि तीव्रता दिइने प्रहरीले जनाएको छ ।

सीमावर्ती क्षेत्रमा तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन
दसैँ, तिहार र छठ मनाउन भारतबाट नेपाल फर्किने नेपाली नागरिकको सुरक्षालाई पनि प्रहरीले प्राथमिकतामा राखेको छ । सीमावर्ती भारतीय प्रहरी एकाइसँग समन्वय गरी यात्रुलाई हुन सक्ने ठगी, लुटपाट तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गरिनेछ ।

यसका लागि जिल्लाका पाँच स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिनेछ । सीमावर्ती क्षेत्रमा पटाका तथा अन्य प्रतिबन्धित वा अवैध सामग्रीको ओसारपसार नियन्त्रण गर्न तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन गरिने योजना छ ।

त्यसैगरी, बसपार्क तथा प्रमुख यातायात केन्द्रमा प्रहरीको उपस्थिति बढाई सार्वजनिक सवारीसाधनमा हुने चोरी, ठगी र यात्रुमाथिको दुर्व्यवहार रोक्ने प्रयास गरिनेछ ।

मादक पदार्थ सेवन गरी सवारी चलाउनेमाथि कडाइ
चाडपर्वका समयमा सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीसहित जिल्लाका १० स्थानमा संयुक्त चेकजाँच सञ्चालन गरिनेछ । मादक पदार्थ सेवन गरी सवारी चलाउने, क्षमताभन्दा बढी यात्रु बोक्ने तथा लापरवाहीपूर्ण रूपमा सवारी सञ्चालन गर्ने चालकलाई कारबाहीको दायरामा ल्याइने प्रहरीले जनाएको छ । सवारी साधनको नियमित जाँच तथा सडकमा निगरानी बढाएर दुर्घटनाको जोखिम कम गर्ने लक्ष्य राखिएको छ ।

सामाजिक सञ्जालका गतिविधिमाथि पनि निगरानी
प्रहरीले सामाजिक सञ्जालमार्फत फैलिन सक्ने अफवाह, भ्रामक सूचना तथा उत्तेजनात्मक सामाग्रीमाथि समेत निगरानी बढाउने भएको छ । यस्ता गतिविधिले सामाजिक सद्भाव र शान्ति सुरक्षामा असर पार्न सक्ने भएकाले सम्भावित जोखिम न्यूनीकरण गर्न चौबीसै घण्टा प्रहरी परिचालन गरिने जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालयले चाडपर्वलाई सुरक्षित, शान्तिपूर्ण र मर्यादित रूपमा मनाउन सर्वसाधारण, व्यवसायी, यातायात व्यवसायी तथा अन्य सरोकारवालासँग सहयोगको आग्रह गरेको छ ।

साथै, कुनै शंकास्पद व्यक्ति, गतिविधि वा आपराधिक घटना देखिए तत्काल प्रहरीको कन्ट्रोल नम्बर १०० वा सञ्चार नम्बर ९८५५०९०३७४ मा जानकारी गराउन अनुरोध गरिएको छ । यसबाहेक सूचना अधिकारीको नम्बर ९८५५०४०६०७ र कार्यालय प्रमुखको नम्बर ९८५५०३५५५५ मा समेत सम्पर्क गर्न सकिने प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया