महेश भट्टराई
मोरङ / झङडाही झोराहाट, कात्तिक २१ गते शनिबार । नेपालीहरूको महान् पर्व तिहारको पहिलो दिन आज देशभर काग तिहार हर्षोल्लासका साथ मनाइएको छ।
हिन्दू धर्म र संस्कृतिअनुसार कागलाई यमराजको सन्देशवाहकका रूपमा मानिने भएकाले आज बिहानै घरआँगन सफा गरी कागका लागि खाना तथा मिठा परिकार राखेर पूजा गर्ने परम्परा रहेको छ।
धार्मिक मान्यताअनुसार कागलाई यमदूतका रूपमा पूजा गर्दा परिवारमा सुख, शान्ति र समृद्धि कायम हुने तथा अशुभ समाचारबाट बच्न सकिने विश्वास गरिन्छ।
यस दिन परिवारका सदस्यहरूले आ–आफ्नो घरको छत, आँगन तथा खुला स्थानमा कागका लागि खानेकुरा राखेर काग तिहार मनाएका छन्। तिहारको सुरुवातसँगै बजार तथा गाउँघरमा पनि पर्वको रौनक बढेको छ।
पाँच दिनसम्म मनाइने तिहारले नेपाली समाजमा आपसी सद्भाव, भाइचारा, प्रेम र सांस्कृतिक एकतालाई थप मजबुत बनाउने विश्वास गरिएको छ।
काग तिहारसँगै सुरु भएको उज्यालो र खुसीको पर्वले सबै नेपालीको जीवनमा सुख, शान्ति, स्वास्थ्य र समृद्धि ल्याओस् भन्ने कामना गरिएको छ।





