सन्तोष सुवेदी
धनकुटा, कात्तिक २१ गते । जिल्ला प्रशासन कार्यालय धनकुटाले धनकुटामा राति १० बजेपछि देउसीभैलो खेल्न रोक लगाएको छ । तिहारको सांस्कृतिक रौनकलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन प्रशासनद्वारा देउसीभैलो रोक लगाएको हो ।
तिहारमा सांस्कृतिक कार्यक्रम सञ्चालन, छठ तथा नेपाल संवत्लाई लक्षित गर्दै जिल्लाभर लागू हुनेगरी रोक लगाएको छ ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माका अनुसार तिहारका बेला देउसीभैलोका नाममा हुने जबर्जस्ती चन्दा असुली, होहल्ला, बाटो अवरुद्ध गर्ने गतिविधि तथा ध्वनि प्रदूषण नियन्त्रण गर्न समयसीमा निर्धारण गरिएको बताउनुभयो । मौलिक संस्कृति र परम्पराको नाममा अवाञ्छित गतिविधि बढ्दै गएको गुनासो आएपछि प्रशासनले विशेष सतर्कता अपनाएको उहाँले बताउनुभयो ।
प्रशासन कार्यालयले राति अबेरसम्म देउसीभैलो खेल्ने जबर्जस्ती रकम माग्ने तथा चर्को आवाजमा डिजे र साउन्ड सिस्टम बजाउने कार्य नगर्न सर्वसाधारणलाई आग्रह समेत गरेको छ । चाडपर्वका बेला हुन सकने विभिन्न प्रकारका विकृति, विसङ्गती र आपराधिकलगायतका गतिविधि नियन्त्रण गर्न कडाई गरेको छ । यस्तै प्रशासनले पटका, भुइँचम्पा, रकेटलगायत विस्फोटक पदार्थको ओसारपसार, बिक्रीवितरण तथा प्रयोगमा समेत पूर्ण प्रतिबन्ध लगाइँएको तथा निगरानी गरिरहेको जनाईएको छ ।
चाडपर्वका बेला जुवातास, अनलाइन सट्टेबाजी, अवैध चिट्ठा तथा ध्वनि प्रदूषण हुने गरी डिजे बजाउने गतिविधिमाथि निगरानी र कारबाही समेत गरिएको प्रशासनले जनाएको छ । यस्तै कानुनविपरीत गतिविधिमा सङ्लग्न हुने जोकोहीलाई नियन्त्रणमा लिई प्रचलित कानुन अनुसार कारबाही गरिने प्रखुख जिल्ला अधिकारी शार्मले बताउनुभयो । चाडपर्वको मौका छोपेर कृत्रिम अभाव सिर्जना गर्ने, मनपरी मूल्य वृद्धि गर्ने तथा म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्ने व्यापारीमाथि पनि प्रशासनले निगरानी बढाएको छ । प्रशासनले चाडपर्वलाई शान्तिपूर्ण, सुरक्षित र मर्यादित रुपमा मनाउन जिल्लावासीलाई आग्रह गर्दै मौलिक संस्कृति संरक्षणसँगै सामाजिक सद्भाव र सार्वजनिक सुरक्षामा सहयोग गर्न सबैलाई अनुरोध समेत गरेको छ ।
-गोरखापत्र अनलाइनबाट साभार





